काठमाडौं, २३ फागुन । मानवअधिकारकर्मी कृष्ण पहाडीले नेपाली कांग्रेस र नेकपा (एमाले) मा राणातन्त्रको प्रेत घुसेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भारतको ओडिसा राज्यस्थित कलिङ्गा विश्वविद्यालयमा नेपाली छात्राको निधन भएको विषयमा संसद्मा छलफल गर्न नदिइएको, पत्रकारहरुको प्रेस पास निलम्बन गरेको, रङ्गशालामा पार्टीका कार्यकर्ताले दर्शक कुटेको लगायतको विषय जोड्दै कांग्रेस–एमालेमा राणातन्त्रकै प्रेत घुसेको टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्वराजासँग मिलिभगत हुनसक्ने आशंकासमेत व्यक्त गरे । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारीबाट विमुख भएको उनले बताए । घिमिरे प्रधानमन्त्री ओलीको दासको भूमिकामा देखिएको उनको आरोप छ ।
‘सभामुख घिमिरे चिप्लिनुभयो । ओलीको दास हुनुभयो । उहाँले कलिङ्गाको बहस गर्न दिनुपर्थ्यो । दुई जना पत्रकार ढंग भएन होला । पत्रकार महासंघ, मिडिया हाउसबाटै ध्यानाकार्षण राउनुपर्थ्यो । उहाँले त दवाबमा आएर एक महिनाको लागि लाइसेन्स निलम्बन गरिदिनु भयो । अब यो त राजाकै लाइन भइगयो नि त । कसैले नारा लगायो प्रधानमन्त्रीविरुद्ध भनेर रङ्गशालामा लात्तैलात्ताले कुट्नुभयो । त्यो त राणाहरुको चरित्र हो नि त । एकतिर खड्गप्रसाद एण्ड कम्पनी, शेरबहादुर एण्ड कम्पनीमा राणातन्त्रको प्रेत घुस्यो यिनीहरुभित्र । मलाई त शंका के कुरामा लाग्छ भने पूर्वराजासँगै मिलिभगत त छैन शेरबहादुरजी र खड्गप्रसादजीको । चरित्रले गर्दाखेरी पूर्वराजा ज्ञानेन्द्रको पुँजी र बलको आधार भनेको खड्गप्रसाद र शेरबहादुरजीका विकृति र विसंगति हुन्,’– उनले भने ।
लोकतन्त्रको हत्या गर्नमा ओली र देउवाको उत्तिकै योगदान रहेको बताउँदै उनले त्यसैको आडमा पूर्वजारा ज्ञानेन्द्रले बोल्ने ठाउँ पाएको बताए ।




प्रतिक्रिया