ज्ञानेन्द्रलाई म चाहीँ राजा नै भन्छुः कांग्रेस नेता कोइराला


काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले नेपालमा अब राजतन्त्र पुनर्स्थापनाको कुनै गुञ्जायस नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजसंस्था पुनर्स्थापनको कोशिस भइराखेको भएपनि त्यो सम्भव नरहेको बताएका हुन् । राजनीतिक दलहरुले जनतालाई खुसी पार्न नसक्दा र भरोसा दिलाउन नसक्दा अहिले राजावादीहरुले बोल्ने ठाउँ पाएको उनको भनाइ छ ।

‘हामीले जनतालाई कतिको खुसी पार्न सकेका छौं । गणतन्त्र ल्यायौं । गणतन्त्रले जनतालाई आशा, भरोसा दिलाउन सक्यो, सकेन भन्ने कुरा महत्वपूर्ण हो । मलाई लाग्दैन, माई खोलामा यो १२÷१५ वर्षमा धेरै पानी बगिसक्यो । अब मलाई विश्वास छैन । तर, कोशिस त मान्छेले गरिराखेको हुन्छ । कोशिसलाई चेक गर्ने भनेको हामीहरुले राम्रो काम गरेर चेक गर्नुपर्छ,’– उनले भने ।

साथै, आफूले ज्ञानेनद्र शाहलाई राजा नै भन्ने गरेको पनि सुनाए । अन्तर्राष्ट्रिय अभ्यासको पनि जानकारी गराउँदै उनले भने, ‘पूर्व भन्नुस्, राजा भन्नुस् । पूर्वै हो । म चाहीँ राजा नै भन्छु । किनभने इन्टरनेशनल चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई हामी नेपालीहरु चाहीँ पूर्व भन्छौं । तर, अमेरिकामा जानु भयो भने राष्ट्रपति नै भन्छन् । जिमी कार्टर आउँदाखेरी हामीहरुले भेट्यौं । भेट्दाखेरी कसरी एड्रेस गर्ने भन्दा मिस्टर प्रेसिडेन्ट भनेर एड्रेस गर्ने भनिएको थियो ।’

साथै, राजसंस्था पुनर्स्थापनाको बहस नेपालमा मात्रै नभएर धेरै पहिला विधिवत रुपमा राजसंस्थाको अन्त्य भइसकेको अन्य देशहरुमा पनि चल्ने गरेको उनले सुनाए । फ्रान्सको उदारण दिँदै उनले भने, ‘राजाको कन्टेक्टमा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । तपाईँ फ्रान्स जानु भयो भने पेरिसको एउटा चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ भइरहेको हुन्छ ।’