काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा मात्रै माओवादीका नेताहरुले ८ क्वीन्टल सुन तस्करी गरेको आरोप लगाएका छन् । आज (शनिबार) बाँकेमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पशुपतिमा पित्तलको जलहरी चढाएको भनेर एकातिर हल्ला फैलाएर अर्कोतिर माओवादीले नै सुन तस्करी गरेको आरोप लगाएका हुन् । माओवादीले नजर एकातिर र निशाना अर्कोतिर हुने गरेको उनको टिप्पणी छ । विगतमा सशस्त्र युद्धको बेलामा पनि माओवादीले एकातिर हल्ला गरेर अर्कोतिर आक्रमण गर्नेगरेको बताउँदै उनले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा भ्रष्टाचार अन्त्य गर्ने कुरा गरेर माओवादीले सुन तस्करी गरेको आरोप लगाए ।
‘पशुपतिमा सुनको जलहरी लगाउने भनेर सरकारले पैसा दियो । त्यहाँ सुनको होईन, पित्तलको जलहरी लगाएका छन् भनेर माओवादी नेताले संसद्मै बोले । साह्रै ठूलो हल्लाखल्ला भएपछि छानविन त गर्नै पर्यो । छानविन गर्दा सुन नै हो भनेर प्रमाणित भयो । पित्तल भन्ने कुरा हल्लामात्रै रहेछ भन्ने प्रमाणित भयो । त्यो सुनको जलहरी पित्तल हो भनेर हल्ला गरेको त सुन तस्करी गर्न रहेछ । त्यसपछि एकपछि अर्को माओवादीका नेताहरु सुन तस्करीको आरोपमा आरोपित भइसके । कति सुन तस्करी भएछ भन्दाखेरी अवैध तरिकाले ल्याएको र सुन गालेको मेसिनमात्रै हेर्ने हो भने करिब त्यो अवधिमा ८ क्विन्टल सुन तस्करी भएको देखिन्छ । तिनीहरुले नेपालमा भ्रष्टाचार अन्त्य गर्ने हल्ला गर्ने, हामी नेपाली जनताले पत्याउनुपर्ने । जसको समयमा त्यो धन्दा भयो । त्यो धन्दा त्यसै हुन्छ ? हिजो उनीहरु सशस्त्र आन्दोलनको बेलामा हल्ला एकातिर चलाउने, आक्रमण अर्कोतिर गर्ने गर्दथे नि । नजर एकातिर, निसाना अर्कोतिर भनेजस्तो,’– उनले भने ।
सबैभन्दा ज्याद राज्यसत्ताको दोहन गरेर माओवादीले आफू सत्ताबाट बाहिरिनुको कारण भ्रष्टाचारको मामिलामा ठूला–ठूला छानविन गर्न खोज्दा हटाइएको बताउँदै आएको महासचिव पोखरेलको भनाइ छ । जनयुद्धको नाममा माओवादीले गरेको सबै गलत क्रियाकलालाई शान्ति सम्झौताको नाममा आफूहरुले माफी दिएको पनि उनले बताए ।




प्रतिक्रिया