काठमाडौं । ब्याटरद्धय आकाश त्रिपाठी र नरबहादुर सार्कीले शानदार ब्याटिङ गरेपछि सातौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २०९ रनको चुनौती पेश गरेको छ ।
सिद्धार्थ रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भयो । उसका लागि आकाश त्रिपाठीले अर्धशतकीय पारी खेल्दा नर सार्कीले बिस्फोटक ब्याटिङ गरे । ९० बलमा ६ चौका र १ छक्काको मद्दतमा ६६ रन जोडेका आकाशले यस सिजनको पीएम कपको पहिलो अर्धशतकको रेकर्ड बनाएका छन् । ३२ बलको सामना गरेका नरले ६ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे ।
त्यसअघि ओपनर मृनल गुरुङले ६१ बलमा ४३ रन जोड्दै टिमलाई रामे्रा सुरुआत दिलाएका थिए । मनिष थापाले १६ रन जोडेको खेलमा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कोशीका लागि दीपेश कँडेल र प्रकाश कार्कीले समान ३ तथा फिर्दोस अन्सारीले दुई र अंकित सुवेदी र विपिन महतोले समान १ विकेट लिए ।
प्रतियोगिताको दोस्रो दिन भोलि पनि तीन खेल हुनेछ । दोस्रो दिन सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
क्यानका अनुसार चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेल हुनेछन्। जसमध्ये सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेक मैदानमा १५ तथा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १४ खेल हुनेछन्। फाइनल खेल भने सिद्धार्थ रंगशालामा हुने जनाइएको छ।
प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ गरी १० टिम सहभागी छन्। खेल तालिकाअनुसार प्रत्येक टोलीले एक अर्का टिमसँग प्रतिस्पर्धा गर्नेछन्।




प्रतिक्रिया