भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डूमा रहेको हिमाल एकेडेमी स्कुलले २१औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम– २०८१ सम्पन्न भएको छ । प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको आतिथ्यमा शनिबार वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । २०८० को एसईईमा ४ जीपीए ल्याउन सफल विद्यालय हिमाल एकेडेमी स्कुलको प्रसंशा गर्दै मन्त्री थापाले ४ जिपिए ल्याउने विपिना मिश्रलाई सम्मान पत्र प्रदान गरे । विद्यालयका सञ्चालक तथा प्रिन्सिपल प्रदीप थापाले विद्यालयको तर्फबाट विपिना मिश्रलाई २५ हजार नगद पुरस्कारसमेत प्रदान गरेका थिए । प्रमुख अतिथि मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भएपश्चात बागमती प्रदेशका जनताको लागि सेवा सुविधा स्तरोन्नति गर्न लागिपरेको बताए । साथै, उनले हिमाल एकेडेमीले यस क्षेत्रमा दिएको शैक्षिक योगदानको कदर गर्नुपर्ने बताए ।
विद्यार्थीहरुको विभिन्न प्रतिभा प्रस्तुत गरिएको वार्षिकोत्सव कार्यक्रममा अतिथि जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले विद्यालयले पढाईसँघै सीपसमेत जोडेर लैजानु पर्नेमा जोड दिए । सूर्यविनायक नगरपालिका– ७ का अध्यक्ष सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता रविन्द्र सापकोटाले विद्यालयको प्रगतिमा खुलेर प्रसंशा गरी हिमाल एकेडेमीले नगरपालिकामा संस्थागत विद्यालयको रुपमा अब्बल सावित गर्न सफल भएको बताए ।
उनले जिपिए ४ ल्याउने विद्यार्थी विपिना मिश्रलगायत सबैमा शुभकामना व्यक्त गरे । प्याव्सन भक्तपुरका अध्यक्ष राजन कस्पाल, समाजसेवी तथा वरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे, कान्तिपुर पत्रिकाको सहायक सम्पादक राजेन्द्र बस्नेत, नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नमस्ते ख्वप्प टेलिभिजनका ऋषिकेश श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
विद्यालयको प्रगति एवं भावी योजना प्रस्तुत गर्दै प्रिन्सिपल प्रदिप थापाले २०७२ को भूकम्प तथा २०७७/०७८ को कोभिड १९ को परिस्थितिमा समेत अभिभावकहरुले दिएको साथ र सहयोग प्रति आभार प्रकट गरे । हिमाल एकेडेमी स्कुलका सल्लाहकार सञ्जय खड्काले गुणस्तरीय शिक्षाको खोजीमा गुण्डू भन्दा बाहिर जानु नपर्ने बताउँदै हिमाल एकेडेमी नै रोज्न अभिभावक र विद्यार्थीहरुलाई उत्प्रेरित गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एसईई व्याच २०७६ देखि २०८० सम्मका १४६ जनालाई सम्मान एवं मायाको चिनो प्रदान एवं हिमाल एकेडेमी स्कुलमा विविध विधामा वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।




प्रतिक्रिया