प्रधानमन्त्री कप क्रिकेट: बागमतीको लगातार दोस्रो हार, फराकिलो जितसहित आर्मीको विजयी सुरुआत


काठमाडौं । सन्तोष कार्कीको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा आर्मीले बागमतीलाई १३४ रनले पाखा लगाउँदै विजयी सुरुआत गरेको हो ।

आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको बागमती १२८ रनमा समेटिएपछि आर्मीले फराकिलो जित दर्ता गरेको हो । बागमतीका लागि विवेकमगरले सर्वाधिक ५१ रन जोडेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । इसान पाण्डेले १९ रन जोडेको खेलमा ओपनर आसुतोष घीरैयाले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि साहव आलमले चार तथा आकाश चन्दले तीन, सोमपाल कामी, नरेन साउद र वसिर अहमदले समान १ विकेट लिए ।

त्यसअघि भैरहवाको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको टोलीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६२ रन बनायो।

उसका लागि सन्तोष कार्कीले ७६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान विनोद भण्डारीले अविजित ४७ रनको पारी खेले।

त्यसबाहेक त्रितराज दासले ३६, विवेक यादवले ३०, कुशल मल्लले २६ रन बनाउँदा बागमतीका खेलाडीले ३५ रन अतिरिक्त दिए। बागमतीका लागि इसान पाण्डे, रिजन ढकाल र प्रतिश जिसीले समान दुई–दुई विकेट लिए ।