तीनकुनेको हिंसात्मक घटनाको जिम्मेवारी ज्ञानेन्द्रले लिनैपर्छः माओवादी उपमहासचिव पोखरेल


काठमाडौं, १७ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरीराजमणि पोखरेलले काठमाडौंको तीनकुनेमा राजावादीहरुले घटाएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाइनुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमै यी सबै गतिविधि भएको बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई छानविनको दायरामा ल्याउन सरकारलाई आग्रह गरे । सो घटनामा दोषी देखिएका सबैलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताए ।

‘उहाँको उक्साहटमा, उहाँको योजनामा यी सबै गतिविधिहरु भएका छन् । यो घटनाको जिम्मेवारी उहाँहरुले लिनुपर्छ । सरकारले यो बारेमा जुनखालको तयारी गर्नुपर्थ्यो, तयारीमा कमजोरी देखिएको छ । हाम्रो पार्टीले दोषीहरुलाई कारबाहीको माग गरिसकेको छ । सरकारले छानविन गर्नुपर्यो । को–को दोषी छन्, ज्ञानेन्द्रजीको निर्देशनमा यी सबै गतिविधि भएको सरल ढंगले सबैले देख्न सकिन्छ,’– उनले भने ।

गत शुक्रबार काठमाडौंका तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले भिन्न व्यक्ति, संघ संस्था, व्यवसायिक भवन र सरकारी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।