काठमाडौं, २० चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण लिन नसकिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले कहिले पनि बीआरआईको ऋण लिनेबारेमा कुरा नगरेको बताएका हुन् । नेता महतले अहिले चीनमात्रै नभएर कुनै पनि देशबाट ऋण लिन सकिने अवस्था नरहेको बताए । उनले बीआरआईको ऋण नलिई अनुदान प्रक्रिया अगाडि बढाइएको खण्डमा त्यसले केही फरक नपर्ने बताए ।
‘हामीले बीआरआईको ऋण लिएका छैनौं । आउने दिनमा पनि ऋण लिनसक्ने क्षमता घटेको छ । नेपाल सरकारले हामी ऋण चाहीँ लिँदैनौं, अनुदान कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा भनिपनिरहेको छ । ऋण नलिई अनुदान कार्यान्वयन गर्नेतिर अगाडि बढियो भने त्यसले केही फरक पर्दैन । तर, ऋण लिने कुरा चाहीँ अहिले हामीले गर्न हुँदैन । चीनसँग मात्रै होइन, अहिले कुनै पनि देशसँग पनि ऋण लिने हाम्रो अवस्था छैन,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले बैंकिङ क्षेत्रलाई राम्रोसँग बुझेको, अनुभव भएको, अर्थतन्त्रलाई चलायमान गराउन सक्ने र अर्थतन्त्रलाई बुझेको मान्छेलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाइनुपर्ने बताए । विगतका त्रुटीहरुलाई सच्याउनेगरी अबको गभर्नर नियुक्ति हुने बताए ।




प्रतिक्रिया