कुशाङ लामा पुर्पक्षका लागि कारागार चलान, २५ करोडका मालिक पौडेल भने फरार


काठमाडौं, ४ वैशाख । काठमाडौंको टोखा–२ झोरबाट ठूलो परिणामको विदेशी मुद्रासहित पक्राउ परेका कुशाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत चैत ४ गते लामाले चलाएको ना ७ ख १६५२ नं को कन्टेनर ट्रकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विदेशी मुद्रा (नेपाली २५ करोडभन्दा बढी) बरामद गरेको थियो ।

लामाले बयानको क्रममा आफू उक्त पैसाको भरियामात्रै रहेको बताएका छन् । उक्त पैसाका मालिक भनिएका नारायण पौडेल भने फरार छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले बुधबार (हिजो) लामालाई पुर्पक्षको लागि थुनामा पथठाउने आदेश दिएको हो ।

लामा र उक्त पैसाका मालिका भनिएका पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन सम्बन्धी कसूर मुद्दा दायर गरेको थियो । लामा र पौडेल दुवैको घर सिन्धुपाल्चोक हो । भोटेकोशी गाउँपालिका–४ का पौडेले यसअघि पनि रक्तचन्दन, अवैध सुन तस्करी र हुन्डी कारोबारमा मुछिएका व्यक्ति हुन् ।