एमाले विराटनगर कमिटी अध्यक्षमा गिरी निर्वाचित


काठमाडौं, ५ वैशाख । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरीको प्यानल नै निर्वाचित भएको छ । हिजो (बिहीबार) भएको निर्वाचनमा १७३ मत ल्याएर उनी अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष गिरीका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत ल्याएका थिए । गिरी संस्थापनइत्तर समूहबाट उम्मेदवार बनेका थिए ।

विनोद ढकाल समूहबाट उम्मेदवार बनेका गिरीले संस्थापन पक्षका उम्मेदवारलाई पराजीत गरेका हुन् । मोरङ जिल्ला अधिवेशनमा पनि ढकाल समूह प्यानलै विजयी भएको थियो । प्रदेशको अधिवेशनमा अध्यक्षमा पराजित भएपछि ढकाल समूह र संस्थापन समूहका बिचमा प्रदेशभरी प्रतिस्पर्धा चलिरहेको छ ।