राजावादीका नाममा मुलुकमा अस्थिरता उत्पन्न गर्ने र संविधानलाई समाप्त पार्ने गतिविधि क्षम्य हुँदैनः गृहमन्त्री लेखक


काठमाडौं, ५ वैशाख । गृहमन्त्री रमेश लेखकले राजावादी वा अरु विभिन्न शक्तिको नाममा संविधानविरोधी गतिविधि सह्य नहुने बताएका छन् । आज (शुक्रबार) गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उनले मुलुकमा अस्थिरता उत्पन्न गराउने, संविधान समाप्त पार्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा गतिविधि गर्ने जस्ता क्रियाकलापहरु सरकारको लागि सह्य नहुने बताएका हुन् । उनले संविधानभित्र रहेर आलोचना, समालोचना, विरोध गर्न पाइने बताए । उनले संसद्बाट सरकार बदल्नसमेत पाइने बताउँदै संविधान च्यात्ने र समाप्तथ पार्ने गतिविधिभने गर्न नपाइने बताए ।

‘पूर्व राजावादीका नाममा या विभिन्न अरु नाममा मुलुकमा अस्थिरता उत्पन्न गर्ने, संविधानलाई समाप्त गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समाप्त गर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य हुनेछैन । कुनै पनि हालतमा सह्य हुने छैन । किनभने यो संविधान हाम्रा पूर्वजहरुको धेरै ठूलो बलिदान, त्याग, तपस्या र अहिलेको पुस्ताको धेरै ठूलो लगानीबाट बनेको हो संविधान हो । यो संविधान संसारको उच्चतम् लोकतान्त्रिक मान्यतामा आधारित छ । नेपाली जनताको भावनाबाट निर्देशित छ । संसारका उन्नत लोकतान्त्रिक अभ्यास गरिराखेका कुनै पनि मुलुकको संविधानभन्दा कमजोर छैन,’– उनले भने ।

साथै, उनले संविधान जारी भएको १० वर्ष भएको र यसबीचको अनुभवको आधारमा समयसापेक्ष संशोधन हुनसक्ने उनले बताए । संविधानमा कहिले पनि पश्चगामी संशोधन भने हुन नसक्ने उनले बताए । संविधान निर्माणका लागि एकाकार भएका राजनीतिक दलहरुबीच सहमतिको आधारमा संविधान संशोधन हुने उनले बताए ।

‘समसामयिक परिवर्तन र संशोधन हुनसक्छन् । समाज जसरी परिवर्तन हुन्छ । त्यसैअनुरुप संविधान संशोधन हुनसक्छ । तर, अग्रगामी, पश्चगामी संशोधन हुन सक्दैन । संविधानमा हामी आवश्यक संशोधन गर्छौं । १० वर्ष अभ्यास भएको छ संविधानको । यसको सबल पक्ष के छन्, यसको दुर्वल पक्ष के छन् । पहिचान गरेर राष्ट्रिय सहमति निर्माण गरेर, संविधान निर्माणका लागि एकाकार भएका राजनीतिक दलहरु एक ठाउँमा बसेर हामी सहमतिको आधारमा संशोधन संशोधन गर्छौं,’– उनले भने । File Photo/RN