प्रचण्डद्वारा कपिलवस्तुको प्रस्तावित कन्या कलेजको अवलोकन, बसहरु व्यवस्था गरिदिने प्रतिवद्धता


काठमाडौं, ५ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ मा अवस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) को अवलोकन गरेका छन् । सो क्रममा उनले विद्यार्थी, अभिभावक तथा स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी लिएका थिए ।

अध्यक्ष प्रचण्डले यस विद्यालयलाई एक वास्तविक कलेजको रूपमा सञ्चालन गर्दै सामाजिक समावेशीता र लैङ्गिक समानताको नमुना केन्द्रको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले बसको व्यवस्थाका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘यो प्रस्तावित कन्या कलेजलाई वास्तविक कन्या कलेजमा बदल्नका लागि सदनमा र सरकारमाथि दवाब दिनेगरी यसलाई अगाडि बढाउन म तपाईँहरुको साथमा हुने विश्वास दिलाउन चाहन्छु । अहिले भर्खरै तपाईँहरुले केही बसहरु कलेजको भइदियो, विद्यालयको भइदियो भने सजिलो हुन्छ भनेको हुनाले मेरो दिमागमा बस्दाबस्दै आएको छ– केही बसहरुको व्यवस्था गर्न सक्छु । म आज यहाँ आएर तपाईँहरुको अगाडि त्यो बसको व्यवस्था कसरी गर्ने भनेर सोचिसकेको छु । म यहाँबाट काठमाडौं फर्किएपछि त्यसको निम्ति पहल गर्नेछु,’– उनले भने ।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि सम्बोधन गरेका थिए । मुस्लिम, थारू र मधेसी समुदायका छात्राहरूलाई लक्षित यो कलेज कपिलवस्तुको दक्षिणी भेगमा अवस्थित छ। महिला हिंसा र सामाजिक सुरक्षाको डरका कारण शिक्षाबाट वञ्चित हुँदै आएका छात्राहरूका लागि यो कलेज महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

हाल कक्षा १२ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा भविष्यमा स्नातक तह (ब्याचलर) अध्ययनको व्यवस्था मिलाउने योजना रहेको छ। साथै छात्राहरूको विद्यालय आवागमन सहज बनाउन कलेज बसको आवश्यकता रहेको विषयमा पनि छलफल भएको थियो।