काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपालले राम्रा भन्दा पनि आफ्ना मान्छेतिर लाग्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको अर्थतन्ध चलायमान बनाउने, समस्या समाधान गर्न सक्ने सक्षम मान्छे नभएर गभर्नरमा आफ्ना मान्छेको खोजी भइरहेको बताएका हुन् । ‘राम्रा मान्छेभन्दा पनि आफ्नो मान्छेतिर लाग्दाखेरी । राम्रो मान्छेसँग मतलब भएन, देशको अर्थतन्त्र राम्रो बनाउने, समस्या नै त्यही हो अहिले,’– उनले भने ।
डा.नेपालले अहिले अर्थतन्त्र सिथिल रहेको बताए । शिथिल अर्थतन्त्रलाई नेतृत्व दिएर देशलाई ग्रे–लिस्टबाट बाहिर निकाल्न सक्ने नेतृत्व राष्ट्र बैंकलाई आवश्यक रहेको उनले बताए । ‘आन्तरिक रुपमा पनि अर्थतन्त्र चलायमान बनाउन सक्ने हुनुपर्यो । बाह्य क्षेत्रमा पनि नेपालको हितस्वरुप नेपाललाई दुई वर्षको समयमा ग्रे–लिस्टबाट निकालेर अगाडि बढ्न सक्ने नेतृत्व आउनुपर्यो,’– उनले भने । File Photo/RN




प्रतिक्रिया