कांग्रेस-एमालेको बीचमा कुनै समस्या छैन, सरकार ढल्दैनः गृहमन्त्री लेखक


काठमाडौं, ६ वैशाख । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कुनै पनि समस्या समस्या नरहेको बताएका छन् । आज (शनिबार) नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनको सवालमा दुई पार्टीबीच कुनै समस्या नरहेको बताएका हुन् । कांग्रेस–एमालेबीच सम्बन्ध चिसियो, यो सरकार आफैं ढल्र्दैछ भन्ने प्रकारका हल्लामा कुनै सत्यता नरहेको उनको दाबी छ ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा अहिले कुनै खालको समस्या छैन । सरकार सञ्चालनको सवालमा पनि हाम्रो बीचमा कुनै समस्या छैन । काम गर्दै जाँदा केही विषय आएभने हामी त्यसलाई छलफल गर्छौं, सरसल्लाह गर्छौं । सबै विषयहरु सहमतिमा गर्ने गरेका छौं । बाहिर कांग्रेस–एमालेका बीचमा सम्बन्ध चिसियो, सम्बन्ध बिग्रियो, अब सरकार सञ्चालनको कुरामा कठिनाइ भयो भन्ने कुरा एउटा र यो सरकार आफैं ढल्दैछ भन्ने हल्ला पटक–पटक भइरहेको छ, त्यसमा कुनै सत्यता छैन । दुईवटा पार्टीको बीचमा समस्या छैन,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई उल्ट्याउने र संविधानलाई नै समाप्त गर्ने खालका गतिविधि भइरहेको बताए । गृहमन्त्री लेखकले उक्त प्रवृत्ति गत फागुन ७ गतेदेखि बढ्दै गएको बताए । जनताले लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा निरङ्कुशता नरोज्ने दाबी गर्दैै उनले यसप्रकारका गतिविधिको विरुद्धमा भएजुट भएर लाग्नसमेत आग्रह गरे ।

‘अहिले संविधानका विरोधी, संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई उल्ट्याउने, संविधानलाई नै समाप्त गर्ने खालका गतिविधिहरु देखा परेका छन् । खास गरेर फागुन ७ गतेदेखि अलि ज्यादा भएर यो विषय अगाडि आइराखेको छ । पूर्वराजावादीहरुले यो संविधान र गणतन्त्रलाई समाप्त गर्ने, लोकतन्त्रलाई समाप्त गर्ने र पश्चगमनको यात्रा प्रारम्भ गर्ने कोशिस गरिराख्नु भएको छ । लोकतन्त्रको कुनै विकल्प छैन, गणतन्त्रको विकल्प छैन । लोकतन्त्र, गणतन्त्रको विकल्पमा नेपाली जनताले निरङ्कुशता रोज्दैनन् । किन भने निरङ्कुशताको युग हामीले देखिसकेका छौं । त्यसो भएको हुनाले नेपाली जनता लोकतन्त्रको विरुद्धमा निरङ्कुता रोज्ने, राजा रोज्ने कुनै सम्भावना देखिँदैन । जुन ढंगले अस्थितरता गर्न खोजिएको छ, यसका विरुद्धमा पनि हामी सबै मुखरित हुन जरुरी छ,’– उनले भने । File Photo/RN