विद्यार्थीहरुको पढ्न पाउने अधिकार हनन गर्नु शिक्षकहरुका लागि सुहाएनः सुप्रभात भण्डारी (भिडिओसहित)


काठमाडौं, ८ वैशाख । नेपाल अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षकहरुले आन्दोलन गर्नुपर्ने परिस्थिति निर्माण हुनु असाध्यै दुर्भाग्यपूर्ण रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शिक्षकहरुले खुसी भएर कक्षा कोठामा जाने वातावरण बन्नुपर्ने बताएका हुन् ।

साथै, शिक्षकहरुले आफ्नो माग पूरा गराउन पठनपाठन नै बन्द गराएर आन्दोलनमा होमिँदा विद्यार्थीहरुको पढ्न पाउने अधिकार, मानवअधिकार, बालअधिकारमा आघात पुगेको उनको दाबी छ । कक्षा कोठा नै बन्द गराएर विद्यार्थीहरुको पढ्न पाउने अधिकार हनन गरिनु शिक्षकहरुको लागि सुहाउँदो विषय नहुने उनले बताए ।

‘एकातिर शिक्षकहरुले आन्दोलन गर्नुपर्ने परिस्थिति निर्माण हुने, अर्कोतिर शिक्षकजस्तो जिम्मेवार, उहाँहरु पनि अभिभावक हो । विद्यार्थीले परीक्षा दिन नपाउने, उहाँहरुको रिजल्ट समयमै हुन्न भन्ने किसिमको वातावरण बन्नु राम्रो भएन । वास्तवमा १८ वर्षभन्दा मुनिका विद्यार्थीहरु त नावालक हुन् नि । उनीहरुको पढ्ने अधिकार, मानवअधिकार, बालअधिकार हो । शिक्षकहरुले आफ्नो अधिकार आन्दोलन गर्न पाउने हो । कक्षाकोठा बन्द गरेर बढ्ने, सिक्ने अधिकारलाई हनन् गर्दिएको चाहीँ सुहाएन,’– उनले भने । File Photo/RN