काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी शक्तिहरु सल्बलाइरहेको बेला उनीहरुलाई बल पुग्नेगरी शिक्षकहरु आन्दोलनमा आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (सोमबार) एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रतिगामीहरुले तमासा, आगजनी, हत्याकाण्ड, तोडफोड, उग्रता र उदण्डता देखाइरहेको बेला शिक्षकहरु आन्दोलनमा आउनु उपयुक्त नरहेको बताएका हुन् ।
‘अहिले प्रतिगामी शक्तिहरु सल्बलाएको बेला र उनीहरुले तमासा देखाइरहेको बेला, आगजनी, हत्याकाण्ड, तोडफोड यस्ता कुराहरु गरिराखेको बेला, उग्रता, उदण्डता देखाएको बेला, अराजकता फैलाएको बेला, यतिबेलै त्यस्ता कुराहरुलाई बल दिनका लागि, साथ पुर्याउनका आन्दोलन हामीले किन गर्ने ? यो आन्दोलनको निम्ति उपयुक्त परिस्थिति हो र ? प्रतिगामीहरु उपद्रो मच्चाइरहेका छन्,’– उनले भने ।
प्रधानमन्त्री ओलीले आन्दोलनतर शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले वार्तामा बसेर सहमति गरी कार्यक्षेत्रमा फर्किन आग्रह गरे । ‘मेरो आग्रह छ उहाँहरुलाई, सरकार उहाँहरुको मागप्रति नेगेटिभ हुने कुरै छैन । सम्भव मागहरु सबै पूरा गर्छ । उहाँहरु तुरुन्त वार्तामा आएर विषय टुङ्ग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्, मेरो आग्रह छ । अब औपचारिक वार्ता नै गर्नुहुन्न भने त्यो त अनौठो नै सुनेको छु मैले । आन्दोलन गर्ने, वार्ता नगर्ने । के भनेको त्यो ? त्यसकारण वार्तामा आउनुस्, कुरा गर्नुस् । सम्भव कुरा सरकारले गर्दिन्छ । फर्केर आ–आफ्ना काममा जानुस् भन्ने मेरो आग्रह हो,’– उनले भने ।
प्रधानमन्त्री ओलीले राजावादीहरुको आन्दोलनलाई उपद्रवको संज्ञा दिए । उनले यस्ता प्रकारको उपद्रवको कानुनसम्मत ढंगले प्रतिकार गरिने पनि बताए । ‘यो उपद्रव आन्दोलन होईन, प्रतिगामी उपद्रव हो । यसको सामना गरिने छ, कानुनसम्मत ढंगले सामना गरिने छ, संविधानसम्मत, विधिसम्मत ढंगले सामना गरिने छ । आवश्यकताअनुसार यो उपद्रवलाई, अराजकतालाई सफल हुन दिइने छैन,’– प्रधानमन्त्री ओलीले भने ।
प्रतिगामीहरु सल्बलाइरहेको बेलामा लोकतन्त्रका पक्षधर, गणतन्त्रका पक्षधरहरुले उनीहरुलाई बल पुग्नेगरीका कुनै पनि गतिविधि गर्न उपयुक्त नहुने प्रधानमन्त्री ओलीले बताए । File Photo/RN




प्रतिक्रिया