काठमाडौं, १० वैशाख । पूर्व मुख्यसचिव डा.विमल कोइरालाले कुशासनका नायकहरुले गठन गरेको आयोगले सुशासन दिन नसक्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गभर्नर नियुक्तिको ताण्डव नृत्यले नै देशमा सुशासनको अवस्था कस्तो छ भन्ने कुरा पुष्टि गरिसकेको बताएका हुन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अर्थ, गृह, कानुन र संघीय मामिलामन्त्रीलगायत सम्मिलित १५ सदस्यीय सुशासन आयोग गठन गरेको थियो ।
उक्त समितिबारे टिप्पणी गर्दै पूर्व मुख्यसचिव कोइरालाले भने, ‘सुशासनको कुरा गर्दैछौं । सुशासन आयोग बनाउने तिनै सरकारी मान्छेहरुबाट कुशासन ल्याइराखेका छन् । कुशासनका नायकहरुले सुशासन दिने कुरा गरिरहेका छन् । सुशासन देख्नुहुन्न, गभर्नर नियुक्तिको ताण्डव नृत्य ? सुशासन भनेको प्रमाणित गरेर देखाउने कुरा हो, भाषण गर्ने कुरा होइन । कुनै ठेली, किताब लेख्ने कुरा पनि होइन । जनताले अनुभूत गर्ने, देख्ने र फरक पायो भने सुशासन हुने हो । सुशासन ल्याउन सरकार छ भन्ने अनुभूत गर्न पाउनुपर्यो । अनि पो सुशासन त ।’
अहिले देशको हरेक क्षेत्र राजनीतिको कारण बिग्रिरहेको उनको दाबी छ । देश बनाउने मार्गचित्र कोहीसँग पनि नरहेको र सत्ता प्राप्ति र कुर्सी टिकाउने तिकडमवाजहरुको समूहले देशमा सुशासन कायम हुनै नदिने उनले बताए । सुशासनको लागि जिम्मेवारबाट नै देशको सुशासन बिग्रिइरहेको उनले बताए । ‘जो सुशासनको लागि जिम्मेवार छन्, जसले गर्नुपर्ने, त्यही क्षेत्रबाट सुशासन बिग्रिराखेको छ । त्यही मानिसबाट शुसाशनको आशा गर्ने भनेको त भाषणको सुशासन हो, कामको सुशासन हुँदैन भन्ने हो मेरो भनाइ,’– उनले भने ।




प्रतिक्रिया