प्रचण्ड भोलि बारपाक जाने, फर्किएपछि विपक्षीहरुको बैठक बस्ने


काठमाडौं, ११ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि (शुक्रबार) गोरखा जाने भएका छन् । २०७२ सालको महाविनाशकारी भूकम्पको एक दशक पुगेकोले भोलि प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

०७२ सालको वैशाख १२ गते गएको विनाशकारी भूकम्पको इपिसेन्टर गोरखाको बारपाक हो । यो क्षेत्र प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ । भूकम्प गएको एक दशक पुगेको सन्दर्भमा त्यहाँ आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रचण्ड भोलि गोरखा जाने भएका हुन् ।

उताबाट फर्किएपछि भने सदनमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बसेर सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा साझा धारणा बनाउने तय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

आज बसेको संसदीय दलको बैठकमा शिक्षकहरुको माग पूरा गराउन माओवादी सांसदहरुले सदनमा सशक्त भूमिका निर्वाह गर्ने भनिएको छ । प्रचण्डले शिक्षकहरुलाई माग पूरा नभएसम्म सडक नछोड्न आग्रह गरिसकेका छन् ।