राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पाएको उपहार संग्राहलय बनाएर राखिनुपर्ने अमरेशको माग, त्यस्ता उपहारमा भ्रष्टाचार भइरहेको आरोप


काठमाडौं, १४ वैशाख । प्रतिनिधि सभा सदस्य डा.अमरेश सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार संग्राहलय बनाएर राखिनुपर्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पदको नाममा आएको उपहार नेताहरुले आफ्नो घरमा लानु मानसिक भ्रष्टाचार रहेको बताए । उनले अहिले नेपालका पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वपरराष्ट्रमन्त्रीलगायतको घरमा पदमा रहँदा डिम्लोम्याटले दिएको उपहार रहेको बताए ।

‘राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो पद सार्वजनिक हो कि व्यक्तिगत हो ? यदि सार्वजनिक पद हो त कुनै देशको डिप्लोम्याट आउँदाखेरी जुन उपहार दिन्छ, त्यो प्रधानमन्त्रीजी, परराष्ट्रमन्त्रीजीको निजी हुन्छ कि, देशको सम्पत्ति हुन्छ ? उहाँहरु विदेश जाँदा राज्यको ढुकुटी, जनताको करबाट उपहार दिने । विदेशीले उहार दिँदा उहाँको घर–घरमा । जम्मै पूर्व प्रधानमन्त्रीको घरमा प्रधानमन्त्रीको रुपमा दिइएको उपहार भेटिन्छ । यो एउटा मानसिक भ्रष्टाचार हो । त्यसो भए विदेश जाँदा आफ्नो निजी सम्पत्तिबाट उपहार दिउँ,’– उनले भने ।

छिमेकी मुलुक भारतमा पनि यसरी आउने उपहार राख्ने संग्राहलय रहेको बताउँदै उनले नेपालमा पनि तत्काल व्यवस्था गरिनुपर्ने धारणा राखे । ‘राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको पदको रुपमा पाएको उहार राज्यको हुन्छ । त्यसको लागि संग्राहलय बनाऔं । भारतमा पनि छ, प्रधानमन्त्रीलाई दिने सबै उपहारको प्रधानमन्त्री संग्राहलय छ । यो मानसिक भ्रष्टाचार हो, यसको अन्त्य गर्नुपर्यो,’– उनले भने ।