शिक्षकहरुमाथि बल प्रयोग गर्नु र धम्क्याउनु कुशासनको अर्को उदाहरण होः शेखर कोइराला


काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षकहरुमाथि सरकारले बल प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । नेता कोइरालाले शिक्षकहरुमाथि राज्यले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनुलाई ‘कुशासनको अर्को उदाहरण’ भनेका छन् ।

‘शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो । अब धेरै ढिला भयो,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

पठनपाठन र भर्ना अभियान ठप्प भएको, कक्षा १२ को परीक्षासमेत सरेको बारेमा चिन्ता व्यक्त गर्दै उनले एक दुई दिनमै समस्या समाधान गरी पठनपाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आफूहरुसँग विगतमा भएका सहमति कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आज शिक्षक र प्रहरीबीच घम्साघम्सी भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहरा हानेर स्थिति नियन्त्रणमा लिएको थियो ।