काठमाडौं, १५ वैशाख । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मन नपरेको भए संस्थागत निर्णयगरेर बाहिरिन सुझाव दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता पोखरेलले सरकार मन नपरेको भए बाहिरिन भनेका हुन् । सरकारमा भएर पनि अहिले गगन र विश्वप्रकाश प्रतिपक्षका सांसदजस्तो देखिएको उनले बताए ।
‘गगनजी सत्तापक्ष हो कि प्रतिपक्ष ? सत्ता पक्ष हो भनेदेखि पार्टीको निर्णयअनुसार चल्नुपर्यो । होइन उहाँहरुलाई सरकारले राम्रो काम गरेको छैन भन्ने लाग्छ भने पार्टीबाट निर्णय गरेर फिर्ता लिए भइगयो नि । हामीले समातेर सरकार जोगाइरहनुपर्छ भनेका छौं र ? यदि उहाँहरुलाई केपी अोली प्रधानमन्त्री मन परेको छैन भने बाहिर बसेर यो सरकार ढाल्छु, ढल्छ, कार्यशैली मन परेन भनेर आलोचना गर्नुभन्दा संस्थागत ढंगले शेरबहादुर देउवालाई कन्भिन्स गराएर निस्किए भइगयो नि ?’ नेता पोखरेलले भने ।
पछिल्लो समय महामन्त्रीद्वय थापा र शर्माले सरकारको तीब्र आलोचना गरिरहेका छन् । महामन्त्री थापाले प्रधानमन्त्री ओलीको बेडरुमसम्मै विचौलियाहरुको पहुँच रहेको आरोपसमेत लगाएका छन् ।




प्रतिक्रिया