काठमाडौं, १४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले शिक्षकहरुको माग सम्बोधन नगरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २७ दिनदेखि भइरहेको आन्दोलनमा समर्थन जनाउन नयाँ बानेश्वर क्षेत्रमा पुगेका नेता खनालले शिक्षकहरुको माग तत्काल सम्बोधन नभए यो भन्दा ठूलो जनआन्दोलन सिर्जना हुने चेतावनी दिए ।
‘शिक्षकहरुको आन्दोलनको मागलाई नसुनी जसरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको छ सरकार, यसको हामी घनघोर भत्सना गर्छौं, विरोध गर्छौं । शिक्षकहरु भनेको यो देशका बालबालिकालाई शिक्षित गर्ने गुरुहरु हुन्, गुरुआमाहरु हुन् । उहाँहरुको मागलाई पहिलो प्राथमिकताको साथ यो सरकारले पूरा गर्नुपर्छ । अन्यथा यो भन्दा ठूलो जनआन्दोलनको प्रतिक्षामा बस्छ सरकार,’– उनले भने ।
र्वतमान सरकारले जनविरोधी र शिक्षाविरोधी चरित्र देखाइरहेको भन्दै उनले यस्तो प्रकारको चरित्रको एकीकृत समाजवादीले विरोध गरिरहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने बताए । उनले वर्तमान सरकारलाई काण्डैकाण्डको माला लगाउन जुरेको पनि टिप्पणी गरे ।
‘यो देशमा शिक्षाको विकास गर्ने हो भने बजेटको २० प्रतिशत छुट्याउनै पर्छ । म प्रधानमन्त्री हुँदा मैले १६ प्रतिशत हालेको थिएँ । बजेट नहुने भन्ने कुरै छैन । जनताले दिएको राजश्व ठीक ढंगले परिचालन गर्नु छैन । भ्रष्टाचारको काण्डैकाण्डको माला लगाउन जुरेको छ सरकारलाई,’– उनले भने ।




प्रतिक्रिया