काठमाडौं, १५ वैशाख । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षकहरु आन्दोलनको मोर्चाबाट नथाक्ने बताएका छन् । आन्दोलनरत शिक्षकहरुलाई सम्बोधन गर्दै उनले यो अवधिका सत्तामा रहनेहरु गल्न र भाग्न सक्ने भएपनि शिक्षकहरु गल्न र भाग्न नसक्ने बताएका हुन् ।
उनले भने भने, ‘सत्तामा हुनेहरु हेर– आज आन्दोलनको २७औं दिन पनि हजारौं शिक्षकहरु आन्दोलनको मोर्चामा डटिरहेका छन् । यी शिक्षक–कर्मचारी साथीहरु थाक्दैनन्, गल्दैनन्, भाग्दैनन् । सत्तामा हुनेहरु गल्लान्, थाक्लान्, भाग्लान् ।’
साथै, उनले हिजो शिक्षकहरुको शान्तिपूर्ण प्रदर्शनमा केही भिजिलान्तेहरु पठाएर नाङ्गो नाच देखाइएको अध्यक्ष सुवेदीको आरोप छ । प्रहरी प्रशासनको उक्त कदमलाई अध्यक्ष सुवेदीले ‘अलोकतान्त्रिक कदम’ भनेका छन् । महासंघले सरकारको यस्तो कदमको घोर भर्त्सना गर्ने पनि उनले बताए ।
प्रहरी दमनको क्रममा ६५ जना शिक्षक घाइते भएकोमा उनीहरु पनि आजको आन्दोलनमा सहभागी रहेको अध्यक्ष सुवेदीले जानकारी गराए । उनले शिक्षा ऐनका लागि ६५ जना नभएर ६५ हजार शिक्षकहरु घाइते हुन तयार रहेको पनि बताए । ‘सरकारले थाहा पाओस्–६५ जनामात्रै होईन, ६५ हजार शिक्षकहरु घाइते हुन तयार छन् । तर, हामी हाम्रो लक्ष्यअनुसार विद्यालय शिक्षा ऐन जारी नगराई फर्किँदैनौं,’– अध्यक्ष सुवेदीले भने । File Photo/RN




प्रतिक्रिया