काठमाडौं, वैशाख १७ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकता हुने भएको छ। तराई-मधेसका दुई प्रमुख राजनीतिक शक्तिले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठकमार्फत एकताको निर्णय गरेपछि आज एकीकरण घोषणा गरिन लागेको हो ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे औपचारिक रूपमा एकीकरणको घोषणा गर्ने तयारी रहेको छ। एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ हुनेछ। अध्यक्षमा सिके राउत रहनेछन् भने सहअध्यक्षमा रञ्जिता श्रेष्ठ र संरक्षकका रूपमा रेशम चौधरी रहनेछन् । वरीयतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहने सहमति भएको छ।
पार्टीको झन्डा आयाताकार कलेजी रंगको पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया हुनेछ भने चुनाव चिह्न पनि ढकियै कायम राखिनेछ। केन्द्रीय समितिको आकार ७०० सदस्यीय हुने तय भएको छ। दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सांसद हुनेछन् ।




प्रतिक्रिया