राष्ट्रपतिबाट आममाफी पाएका रेशम किन पक्राउ परे ? यस्तो छ कारण..


काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज (बुधबार) नउपा र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम आयोजना गरिएको थियो । एकता घोषणा कार्यक्रममा उपस्थित भएका चौधरीलाई सादा पोषाकमा आएका प्रहरीहरुले नियन्त्रणमा लिएका थिए ।

काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीका अनुसार चौधरीलाई टीकापुर घटनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो । अहिले उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना हुँदा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । सो घटनामा रेशमलाई तीनै तहको अदालतले दोषी ठहर गरेको थियो । टीकापुर घटनापछि पाँच वर्ष सजाय भोगेका चौधरीलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

चौधरीको आममाफीविरुद्ध टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिईन् । कडायत टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी श्रीमती हुन् । सो रिटमा सुनुवाई हुँदा सर्वोच्चले तत्कालका लागि थुनामा राख्नु भनी आदेश गरेकाले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको एसएसपी अधिकारीले बताए ।