श्रम गर्दै गरेको चित्रण गर्ने आफ्नै फोटो फेसबुकमा राख्दै प्रधानमन्त्रीले भने, ‘श्रमिकको पसिनाले देश अगाडि बढेको छ’


काठमाडौं, वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा समाजिक सञ्जालमा श्रम गर्दै गरेको चित्रण गर्ने आफ्नै फोटो राख्दै प्रधानमन्त्री ओलीले लेखेका छन्,
‘आज मे १—अन्तर्राष्ट्रिय श्रमिक दिवस।
देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले।
श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्‍यौं, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो।
तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्।
अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ।
छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन—श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं।
श्रमलाई सम्मान गरौं, श्रमिकलाई सम्मान गरौं।
जय श्रमिक, जय देश !’