गृह प्रशासनले रेशम चौधरी र उनको परिवारसमक्ष माफी माग्नुपर्छः वरिष्ठ अधिवक्ता भट्टराई (भिडिओसहित)


काठमाडौं, १८ वैशाख । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रेशम चौधरीको गिरफ्तारीमा गम्भीर त्रुटी भएको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस सन्दर्भमा गृह प्रशासनले रेशम चौधरी र उनको परिवारसँग माफी माग्नुपर्ने बताएका छन् । उनले डेमोक्रेशीमा यस्तो प्रकारको गतिविधि हुनु दुःखद् रहेको बताए ।

‘यो समग्र प्रक्रियाको बारेमा चाहीँ गृह प्रशासनले प्रहरीमार्फत के भएको हो भन्ने बुझेर नेपाली जनता समक्ष यसको यथार्थता ल्याउनुपर्छ । नागरिक हकमाथि खेलवाड गरिएको छ । डेमोक्रेशीमा यस्तो हुन सक्दैन । यो गम्भीर कुरा हो । यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्छ । गृह प्रशासनले नेपाली जनता समक्ष र खासगरी गिरफ्तारीमा पर्नुभएका रेशम चौधरी र उहाँको परिवारसँग क्षमा याचना गर्नुपर्छ,’– उनले भने ।

वरिष्ठ अधिवक्ता भट्टराईले राजनीतिक दलका ठूला नेताहरु संलग्न भएको प्रकरणमा गिरफ्तारीबारे गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मै जानकारी हुने पनि बताए । उनले रेशम चौधरीको प्रकरणमा गृह प्रशासन र सर्वोच्च प्रशासन दुवैले छानविन गरिनुपर्ने बताए ।

‘उच्च तहको राजनीतिक व्यक्तित्वहरुको संलग्नता भएको कुरामा उहाँहरुलाई गिरफ्तार गर्ने कुरामा यसअघिको अभ्यास हेर्दाखेरी त्यो गृह प्रशासन, गृहमन्त्रीसम्म, अझ कतिपय व्यक्तिको सन्दर्भमा प्रधानमन्त्रीसम्म सूचना नपुगी गिरफ्तार गर्ने प्रचलन थिएन । अब यो प्रक्रियामा चाहीँ सर्वोच्च अदालतको पत्र लिएर शाखा अधिकृत आफैं जानुभएको छ । त्यसो भएको हुनाले यसको विश्वसनीयता छ भन्ने भ्रममा परेर पनि यो काम भएको हुनसक्छ । गृह प्रशासनले पनि यो विषयमा छानविन गर्नुपर्यो,’– उनले भने ।

टीकापुर घटनासँग सम्बन्धित विचाराधीन मुद्दामा सर्वोच्च प्रशासनबाट जारी भएको एक पत्रको आधारमा प्रहरीले हिजो रेशमलाई पक्राउ गरेको थियो । रेशम पक्राउ परेको केही समयपछि उक्त पत्रबारे प्रश्न उठेको थियो । अन्नतः सर्वोच्च प्रशासनले डिल्लीबजार कारागारलाई पत्र लेख्दै यसअघिको पत्र आधिकारिक नरहेको र रेशम पक्राउ परेको भए उनलाई तुरुन्त रिहा गरिदिन भनेको थियो । सर्वोच्चको दोस्रो पत्र आएसँगै ५ घण्टा जेल बसेर रेशम छुटेका थिए । File Photo/RN