नाउपा र जनमतबीचको एकता धकेलियो, नयाँ मिति तोक्न अलमल


काठमाडौं, १८ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीचको एकता धकेलिएको छ । हिजो (बुधबार) पार्टी एकता घोषणा कार्यक्रम आयोजना गरिएको भएपनि रेशमलाल चौधरी पक्राउ परेपछि कार्यक्रम बिथोलिएको थियो । चौधरी हिजो नै छुटेपनि एकता घोषणाको लागि नयाँ मिति तोकिएको छैन ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरसहितको पत्रका आधारमा रेशमलाई प्रहरीले पक्राउ गरेर कैद भुक्तानीको लागि भन्दै डिल्लीबजार कारागार पठाएको थियो । तर, थुनामा पठाउन लेखिएको उक्त पत्र आधिकारिक नरहेको भन्दै सर्वोच्चले रशेमलाई पक्राउ गरिएको भए छाडिदिन अर्को पत्र लेखेको थियो । रेशम छुटेसँग एकताको नयाँ मिति घोषणा गरिएपनि उनीहरु अहिलेसम्म औपचारिक बैठक नै बसेका छैनन् ।

नाउपा र जनमत पार्टीबीच एकतापछि राखिने पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, पदाधिकारीलगायतका विषय टुङ्गिसकेको छ । एकतापछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहने, पहिलो वरीयतासहित रेशमलाल चौधरी संरक्षक रहने, अध्यक्षमा सिके राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहनेगरी सहमति भएको थियो ।

सहमतिअनुसार एकतापछि पार्टीको झन्डा आयाताकार कलेजी रङको पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया र चुनाव चिह्न पनि ढकिया नै राखिने सहमति जुटिसकेको छ । File Photo/RN