काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीहरुलाई बदनाम गराउने मनशायले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा व्यापक भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त प्रकरणको अझ मसिनो ढंगले अनुसन्धान गरिनुपर्ने बताए ।
‘यो मसिनोसँग अनुसन्धान हुनुपर्छ । अख्तियारदेखि राजश्वअनुसन्धान क–कसले गर्ने हो गर्नुपर्छ । दोषीहरुलाई कारबाही गर्नुपर्छ, दोषी हो भने । राजा ल्याउँछु भनेर लागेका राजेन्द्र लिङ्देनले लोकतन्त्रमा, गणतन्त्रमा विश्वास गर्नेहरुलाई बदनाम गरौं भन्ने मनशायले प्रतिवेदन आएको छ भने त्यो गलत हो,’– नेता बस्नेतले भने ।
भ्रष्टाचार प्रकरणमा एमाले कुनै व्यक्तिको पनि पक्षमा नरहेको उनले बताए । पोखराको एयरपोर्टको लागत बढाइएको कुरा नै उचित कि अनुचित भन्ने विषयमा अनुसन्धान गरिनुपर्ने उनले बताए । उक्त प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीलगातका डीजीहरुलाई मात्रै कारबाही गरिन नहुने उनले बताए । त्यसो गरिएमा बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल र बाबुराम भट्टराईलाई जोगाएर अरुलाई कारबाही गरेको जस्तो हुने उनको भनाइ छ ।




प्रतिक्रिया