काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैतिरबाट नेपालको लोकतन्त्रमाथि खतरा रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजसंस्था पुनर्स्थापना गर्छौं भनेर लागिपरेका दुर्गा प्रसाईं ज्ञानेन्द्र–प्रचण्ड दुवैतिरको गोटी रहेको बताएका हुन् । गत चैत १५ गते ज्ञानेन्द्रको निर्देशनमा दुर्गा प्रसाईँले र प्रचण्डको निर्देशनमा समाजवादी मोर्चाले गरेको प्रदर्शनको मक्सद नेपाललाई बंगलादेशजस्तै बनाउने रहेको उनले बताए । त्यसदिन प्रचण्ड र ज्ञानेन्द्र दुवै जना मोहम्म युनुुस बन्ने खोजेको उनको आरोप छ ।
‘यो सरकारलाई शेख हसिनाजस्तै लखेट्छौं भनेर चैत १५ मा एकथरीबाट होइन, दुवै थरीबाट, तीनकुने र भृकुटीमण्डप दुवैतिरबाट मोहम्मद युनुस हुन दुवैतिरबाट तयारी थियो । उहाँ (प्रचण्ड) का लक्ष्य त्यही हो । हिजो सिक्किम बनाउने हो, अहिले बंगलादेश बनाउने हो । चैत १५ गते बंगलादेश बनाउने लक्ष्य थियो । धम्की दिनुहुन्छ उहाँ, बंगलादेश बनाउछु भन्नुहुन्छ । दुर्गा त गोटीमात्रै हुन्, बंगलादेशको योजनाकार भनेको प्रचण्ड हुनुहुन्छ । नसकेर मात्रै । गोटी ज्ञानेन्द्र र प्रचण्ड दुवैका दुर्गा भएपनि उहाँहरु दुवैको मक्सद ओलीलाई सडकबाटै शेख हसिना बनाउने थियो,’– उनले भने ।
राजावादी भनिएकाहरुले साँढेजस्तै हाकाहाकी जुधेर गणतन्त्रलाई घुँडा टेकाउन चाहेको, तर प्रचण्डले भने अप्ठ्यारो गौंडोमा पार्न खोजेको उनको आरोप छ । ‘राजावादीहरु हाकाहाकी साँढेजस्तै जुधेर लोकतन्त्रलाई घुँडा टेकाउने दाउमा छन् भने माओवादी चोरीमार हान्ने गोरुजस्तो । अप्ठ्यारो ठाउँमा, गौडोमा गौंड्याउनु भन्छन् नि । त्यसले यो लोकतन्त्र माओवादी र राजावादी, ज्ञानेन्द्र र प्रचण्ड दुवैतिरबाट खतरामा छ,’– नेता शाहीले भने ।




प्रतिक्रिया