काठमाडौं, १९ वैशाख । जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकता केही दिनमात्रै सरेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नाउपा र जनमतबीचको एकता कसैको षड्यन्त्रले नरोकिने बताएका हुन् । उनले गत वैशाख १७ गते ठूलो षड्यन्त्रका साथ एकता भाँड्ने काम भएको दाबी गरे ।
‘एकता हुन्छ । केहीदिन सारिएको मात्रै हो । एकताका सबै विषयवस्तुहरु लगभग टुङ्गिएकै छन् । त्यही आधारमा अगाडि बढ्छ । सर्यो भन्दा पनि सारियो । महिमानसिंहको महिमा मण्डन ४÷५ घण्टा देखियो । खासगरी भन्दा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एकअर्काका परिपुरक हुन् । देशको निम्ति सशक्त विकल्प र ठूला पार्टीहरुको निम्ति ठूलो चुनौति भएको हुनाले यसलाई एकता हुन नदिन चाहनेको षड्यन्त्र हो । हाम्रो एकता भएरै छाड्छ । एकता हुन्छ,’– उनले भने ।
एकता घोषणाको लागि आयोजना गरिएको कार्यक्रमबाट विचाराधीन मुद्दाको सन्दर्भमा रेशम चौधरी पक्राउ परेका थिए । सर्वोच्च अदालतको मु्द्दा तथा रिट शाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरमा भएको पत्रको आधारमा प्रहरीले चौधरीलाई विचाराधीन मुद्दाको सन्दर्भमा पक्राउ गरेर डिल्लीबजार कारागार पठाएको थियो । पछि सर्वोच्चले शाखा अधिकृत विष्टको हस्ताक्षर भएको पत्र आधिकारिक नरहेको भन्दै रेशमलाई छाडिदिन अर्को पत्र लेखेको थियो ।
नेता खानले उक्त घटनाको अहिले दुवै दलले समीक्षा गरिरहेको बताए । आज, भोलि हुन्छ भन्न नसकिए पनि केही दिनभित्र नै एकता हुने उनले बताए । साथै, जनमत पार्टी सरकारबाट बाहिरिने भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । सरकारमा बसिराख्ने वा बाहिरिने भन्ने प्रकारको पार्टीभित्र कुनै छलफल नै नभएको उनले बताए । File Photo/RN




प्रतिक्रिया