विद्यालय कर्मचारीलाई धोका दिएका छौनौं, उनीहरुको माग पनि ऐनमार्फत सम्बोधन हुन्छः लक्ष्मीकिशोर सुवेदी


काठमाडौं, १९ वैशाख । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आगामी असार १५ गतेभित्र शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने बताएका छन् । आज (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले असार १५ गतेभित्र प्रतिनिधि सभाबाट शिक्षा ऐन जारी गर्ने सहमति गरेको र उक्त सहमति कार्यान्वयन नभएको खण्डमा पुनः आन्दोलन हुने बताएका हुन् । ‘असार १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने भनेर हामीले लेखाएका छौं । त्यो भएन भने फेरि आन्दोलन हुन्छ,’– उनले भने ।

आफूहरुसँग विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेखि २९औं दिनसम्म शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरेका थिए । आन्दोलनको २९औं दिन शिक्षक महासंघका प्रतिनिधि र सरकारबीत वार्ता भएको थियो । वार्तापश्चात उनीहरु कार्यक्षेत्र फर्किएका छन् । अध्यक्ष सुवेदीले अब कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने, एसईईको उत्तरपुस्तिका परीक्षण र पठनपाठन पनि रोकिने बताए ।

अध्यक्ष सुवेदीले विद्यालय कर्मचारीहरुको माग पनि शिक्षा ऐनमार्फत सम्बोधन हुने बताए । उनले ऐन जारी हुँदा दरबन्दी सिर्जना हुने र विद्यालय कर्मचारीले दरबन्दीअनुसारको तलब पाउने बताए । विद्यालय कर्मचारी पनि शिक्षा क्षेत्रको एउटा अंग रहेको बताउँदै आन्दोलनमा आफूहरुले धोका नदिएको उनको भनाइ छ । ‘वार्ता प्रक्रियामा उहाँ आफैं हुनुहुन्थ्यो । अनि धोका कसले दियो ? आफू भएको वार्ताको जिम्मा आफूले लिनुपर्छ कि पर्दैन ? ऐन बन्ने प्रक्रियामा छ । ऐनले सम्बोधन गरेर अगाडि बढ्छ । मान्छेले हरेक कुरालाई कसरी ग्रहण गर्छ भन्ने कुरा हो । विद्यालय कर्मचारी हामीभित्रकै एउटा भाग हो । हामी सबै लडेका हौं । उहाँहरु पनि लड्नु भएको हो । तर, त्यो एजेण्डा स्थापित हुन नसकेको हो । लड्दैमा सबै एजेण्डा स्थापित हुन्छन् भन्ने छैन । ऐन जारी हुँदाखेरी उहाँहरुलाई पद सिर्जना गर्ने हो । पद सिर्जना भएपछि पदअनुसारको तलब आफैं सिर्जना हुन्छ,’– अध्यक्ष सुवेदीले भने । File Photo/RN