काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएको दाबी गर्दै ढुक्क भएर दृढतापूर्वक समर्थन गर्न आफ्नो दलका सांसद्हरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए ।
‘हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुपर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ । हाम्रो दलमा वैचारिक एकता छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारी रूपमा प्रकट गर्नुहुने छ भन्ने विश्वास लिएको छु,’– ओलीले भने ।
प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको समूहको उत्थान हुनेगरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको बताए । File Photo/RN




प्रतिक्रिया