काठमाडौं, २० वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राजावादीहरुलाई चोरको संज्ञा दिएका छन् । आज (शनिबार) पार्टीनिकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादीहरुले आफूहरुको कम्प्युटर र प्रिन्टर नै चोरेर लगेको बताएका हुन् । गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा आयोजना गरेको प्रदर्शनको प्रसंग उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चाको आन्दोलनले उनीहरुको मनोबल नै गिराइदिएको बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राजावादीहरुको मनोबल गिरेपनि खतरा भने बाँकी नै रहेको बताए । वर्तमान व्यवस्थालाई सिध्याउने नभएर यसलाई समुन्नत बनाएर लगिनुपर्ने बताए । व्यवस्थालाई जोगाउन र यसलाई समुन्नत बनाउन एकीकृत समाजवादीले उल्लेखनीय भूमिका निर्वाह गरेको उनले बताए ।
‘चोरहरु, चोरी गर्नेहरु, हाम्रो पनि कम्प्युटर र प्रिन्टर चोरेर लगिदिए । त्यो हामीले पुष्टि गरिदियौं र आज उनीहरुको मनोबल गिरेको छ । तर पनि खतरा बाँकी नै छ । यो खतरा बाँकी भएको हुनाले गणतन्त्रका पक्षधरहरु फेरि मिल्नुपर्छ । गणतन्त्र जोगाउने शक्तिहरुको बीचमा एक राय हुनुपर्छ । यो व्यवस्थालाई सिध्याउने होइन, अझै समुन्नत गर्ने । मान्छे खराब भयो भने खराबी पो हटाउने हो त, मान्छे मारिदिने होइन नि । त्यसो भएको हुनाले पनि हाम्रो पार्टीले भूमिका खेलेको छ,’– उनले भने ।




प्रतिक्रिया