सरकारसँग संख्याको दम्भ र जे गरेपनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छः प्रचण्ड


काठमाडौं,२२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रमलाई ‍औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन् । यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रममा सरकारले तिहाइको निरंकुशता लाद्न खोजेको बताए । आफू प्रधानमन्त्री भएको बेलामा बजेट प्रस्तुत हुनुभन्दा तीन महिना अगाडि नै नीति तथा कार्यक्रमबारे नयाँ क्यालेण्डर बनाएर आफूहरुले काम सुरु गरेको उनले स्मरण गराए । उनले अहिले त्यो लोकतान्त्रिक विधि लागू नभएको भन्दै उनले आलोचना गरे । नीति तथा कार्यक्रमबारे सत्ता पक्षका सांसदहरु नै सन्तुष्ट नरहेको उनले बताए ।

‘मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाई समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ। सदनमा प्रस्तुत हुने, माननीय सांसदहरुले सुझाव दिने तर ती सुझावहरु नीति तथा कार्यक्रमा समेटिएर परिमार्जन भने नहुने परम्परा अन्त्य गर्नैपर्छ भनेर अध्यादेश नै जारी गरेर पनि बजेट प्रस्तुतीको तीन महिना अगावै नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेटको नयाँ क्यालेण्डर जारी गरिएको थियो । त्यसो गर्दा दुइ तिहाइको निरंकुशता लाद्न सकिने थिएन। त्यसैले सरकारले आफ्नो चरित्र देखायो र गत वर्षको प्रावधानलाइ खारेज गरियो,’– उनले भने ।

अध्यक्ष प्रचण्डले सरकारसँग संख्याको दम्भ छ, जे गरेपनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन रहेको बताए । नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइएको र औपचारिकतामा मात्रै यसलाई प्रस्तुत गरिएको भन्दै उनले सच्याउन आग्रह गरे ।