प्रधानमन्त्री अ‍ोलीलाई प्रचण्डको प्रश्नः ‘दलितलाई बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो ?’


काठमाडौं, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रमबारे बोल्दै अध्यक्ष प्रचण्डले ‘दलितलाई बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो ?’ भन्दै प्रश्न गरे ।

आफू नेतृत्वको सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई स्मरण गराउँदै उनले दलित, महिला, श्रमिक, अपांग, सीमान्तकृत र उपेक्षित समुदायको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउने उद्देश्यले ऐतिहासिक कार्यक्रमहरू अघि सारिएको बताए । तर, वर्तमान सरकारको नीति तथा कार्यक्रममा ती कार्यक्रमहरू पूर्ण रूपमा हटाएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘संसदमा मैले आग्रह गरेको थिएँ मेरो नेतृत्वको सरकारबाट ल्याइएका दलित, महिला, घाइते, अपांग तथा श्रमिक समुदायसम्बन्धी कार्यक्रमहरू बदला स्वरूप च्यात्न नपरोस्। तर, अहिले त तिनको शीर्षकसमेत डिलिट गरिएको छ,’– अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले अघिल्लो सरकारले व्यापक छलफलपछिको तयारीस्वरूप अघि सारेको ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’का लागि कानुन निर्माणसम्बन्धी प्रक्रिया पनि रोकिनु निन्दनीय रहेको बताए । ‘गत वर्षको नीति कार्यक्रममा विधेयक ल्याउने भनिएको थियो, अहिले त्यो समेत हटाइएको छ,’ उनले भने ।

सरकारले दलित, श्रमिक, किसानजस्ता समुदायको हितका कार्यक्रम काट्दै, भूमाफिया र विचौलियालाई लाभ हुने गरी नीति निर्माण गरेको प्रचण्डको आरोप छ । ‘विचौलिया र दलाल पूँजीपतिको सेवामा सरकार तल्लीन देखिन्छ,’– उनले भने ।

अहिलेको राजनीतिक परिवर्तन दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, किसान, मजदुरलगायत उत्पीडित वर्गको बलिदानबाट सम्भव भएको बताउँदै उनले संविधानका हरेक पानामा उनीहरूको रगत र पसिना रहेको स्मरण गराए । समावेशीता, समानता र सन्तुलित विकास नै संविधानको सुन्दर पक्ष रहेको प्रचण्डले बताए । ‘दलितलाई नीति तथा कार्यक्रमबाटै बहिष्कार गरेर कुन नेपालीलाई खुसी बनाउने योजना हो ?’ भन्दै उनले प्रश्न गरे ।