काठमाडौं, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीले सरकारको नीति तथा कार्यक्रम अमूर्त र अव्यबहारिक रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम रामायणमा ‘हनुमानले सञ्जिवनी बुटी पत्ता लगाउन नसक्दा पहाडै बोकेर ल्याएको’ जस्तै रहेको टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रममा झट्ट हेर्दा धेरै कुराहरु भएपनि नयाँ र प्रभावकारी कुनै पनि रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘काइते शब्दजालले भरिएको मनोचिन्ते झोला’ को संज्ञा दिए ।
साथै, प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक नभएको कुरा जताततै व्यप्त रहेको बताउँदै उनले नीति तथा कार्यक्रममा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक र विदेशमा लगेर राखिएको कालो धन नेपालमै फिर्ता ल्याइने कुरा समावेश गरिनु आवश्यक रहेको बताए । ‘मन्त्रीहरुको अहिलेसम्म सम्पत्ति सार्वजनिक नभएको कुरा जताततै व्याप्त छ । जनताले पनि चासो राखेका छन् । एकैचोटी नीति तथा कार्यक्रममा मन्त्रीहरुको सम्पत्तिसहित देशमा भ्रष्टाचार गरेर विदेशी बैंकमा लगेर थन्क्याएको सम्पत्ति पनि नेपाल ल्याइन्छ भन्ने कुरा नीति तथा कार्यक्रममा आओस् भनेको त आएन । यो राख्नुपर्छ,’– उनले भने ।
नीति तथा कार्यक्रममा एफएटीएफको ग्रे–लिस्टबाट देशलाई कसरी बाहिर निकाल्ने भन्ने योजना नआएको, स्वास्थ्यलाई गुणतस्तरीय बनाउने, सबै भीआईपीले नेपालमै उपचार गर्नुे, सरकारी शिक्षालाई गुणस्तरीय बनाउने कुनै पनि कुराले प्राथामिकता नपाएको नेता किरातीको भनाइ छ । उनले कृषिमा प्रभावकारी कार्यक्रम नआएको, राशायनिक मल कारखाना खोल्ने कुरा लामो समयदेखि अमूर्त रुपमा आइरहँदा अहिले पनि निरन्तरता मात्रै दिइएको, किसानलाई अनुदान नभएर बजारको सुनिश्चितता हुनुपर्नेमा त्यो हुने खालको कुनै विश्वास दिलाउन नसकेको, विदेशिएका युवाहरुलाई नेपालमै रोजगारी दिने कार्यक्रम समावेश नगरिएको बताए ।
नीति तथा कार्यक्रममा महावीर पुनले सञ्चालनमा ल्याएको आविष्कार केन्द्रजस्ता अनुसन्धानको बारेमा एक शब्द पनि खर्च नगरिएको, नेपाली रैथाने ज्ञान, सीपमाथि अनुसन्धान हुनुपर्नेमा त्यसबारे सरकार मौन देखिएको उनले बताए । शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र बाँदर आतङ्कले गाउँ खाली हुँदै गएको सहरमा मान्छेहरुको चाप बढिरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्नेतिर नीति तथा कार्यक्रम नआएको उनको आरोप छ । बरु संसद्मा ठूला घरानाका मान्छेहरु ‘बाँदरलाई त भ्यासेक्टोमी गर्नु पर्ने’ कुरा राखेर र नीति तथा कार्यक्रम पनि त्यस्तैतिर केन्द्रीत भएको जस्तो भान भइरहेको उनले बताए । File Photo/RN




प्रतिक्रिया