उमागौरी सहकारी ठगी प्रकरणः अञ्जलासहित ७ प्रतिवादीको हकमा न्यायाधीशद्वयबीच राय बाझियो, तेस्रो न्यायाधीशको इजलासमा पेश गर्ने आदेश


काठमाडौं, २२ वैशाख । उमागौरी सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशको विषयमा उच्च अदालतका न्यायाधीशद्वयबीच राय बाझिएको छ । उमागौरी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत विराटनगर पुनरावेदन गएको थियो । सो मुद्दा उच्च अदालतका न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीश पुडासैनीले जिल्ला अदालतको आदेश मिलेकै देखिएकाले परिवर्तन गर्न नपर्ने राय व्यक्त गरेकी छिन् ।

यता न्यायाधीश बास्तोलाले भने प्रतिवादी शम्भु प्रसाद रौनियारलाई थुनामै राख्ने जिल्ला अदालतको आदेशमा सहमति जाउँदै अन्य प्रतिवादीहरुको हकमा भने अभियोग पत्रमा उल्लेखित विगोलाई समेत विचार गरी धरौटी बढाउनुपर्ने राय दिएका छन् ।

प्रतिवादीहरु रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासबाट जनही एक करोड धरौटी माग्नुपर्ने न्यायाधीश बास्तोलाको राय रहेको छ । अरु प्रतिवादीहरु लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीको हकमा जनही २५ लाख धरौटी लिनुपर्ने न्यायाधीश बास्तोलाको राय छ । न्यायाधीशद्वयबीच उक्त मुद्दामा रायबाझी भएपछि तेस्रो न्यायाधीशको इजलासमा पेश गर्ने आदेश भएको छ । अब तेस्रो न्यायाधीश (एकल इजालास) ले गरेको फैसलाको आधारमा उनीहरुको मुद्दा अगाडि बढ्छ ।

प्रतिवादीमध्ये अञ्जला नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन् । अञ्जलालाई जिल्ला अदालत मोरङले यसअघि १० लाख धरौटीमा छाडेको थियो ।