सत्ता संयन्त्रको सदस्यले ‘प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच छ’ भन्नु गम्भीर नैतिक पतन होः प्रचण्ड


काठमाडौं, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र विचौलियाको नियन्त्रणमा चलेको आरोप लगाएका छन् । आज (सोमबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले भने, ‘मैले यसअघि पनि सरकारलाई खबरदारी गरेको थिएँ । सरकार जनताप्रति गैरजिम्मेवार देखिन्छ, तर स्वार्थ समूह र विचौलियाप्रति खुलेर समर्पित छ ।’

सरकारले उद्योगीहरुसँग विद्युत प्रयोग गरेवापतको अर्बौं बक्यौता नउठाएर गरीबको भने लाइन काटिरहेको प्रचण्डको भनाइ छ । उनले सरकारको यस्तो प्रकारको विसंगति जनआक्रोशको कारण बनेको बताए ।

सरकारको कार्यशैलीले लोकतन्त्र नै संकटमा पर्ने खतरा रहेको नउको भनाइ थियो । ‘सरकारको असंवेदनशीलता र स्वेच्छाचारिताले प्रतिगामी शक्तिहरूलाई पुनः शिर उठाउने मौका दिएको छ। हिजो सामाजिक सञ्जालमा सीमित आक्रोश भोलि सडकमा पोखिन सक्छ,’– उनले भने ।

दश महिनाको कार्यकालमा सरकारले कुनै पनि दृष्टिले सुध्रिएको प्रमाण नदेखिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको गठन नै सीमित वर्गको स्वार्थका लागि भएको दाबी गरे । ‘जब सत्ता संयन्त्रकै सदस्यहरूले प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच भएको भनी सार्वजनिक रूपमा बोल्न थाल्छन्, त्यो शासनको गम्भीर नैतिक पतन हो,’– उनले भने ।

सार्वजनिक संस्थानहरूमा चरम राजनीतिक हस्तक्षेप, नियुक्तिमा विचौलियाको हावी, सेवा प्रवाहमा जनताको अपमानजनक अवस्था र सात बुँदे सहमतिप्रति सरकारको बेवास्ता जस्ता विषयमा अध्यक्ष प्रचण्डले चिन्ता व्यक्त गरे ।