काठमाडौं, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेपाललाई हिन्दुराष्ट्र बनाउन सजिलो नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धर्मनिरपेक्षता संविधानको चार पिलरमध्ये एक रहेको बताए । धर्मनिरपेक्षतामाथि प्रहार भएको खण्डमा देश कहिल्यै ननिस्किने द्वन्द्वमा फस्ने दाबी गरे ।
‘संविधानको चार वटा खम्बा भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता हो । यो चार वटा पिलरमाथि संविधान बसेको छ । एउटा पिलर भाँचियो भने संविधान भत्किन्छ । त्यसपछि के हुन्छ थाहा छ ? त्यसपछि कहिल्यै पनि ननिस्किने द्वन्द्वमा देश जान्छ । त्यो बाटो भएर हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप गर्न विदेशी शक्ति आउँछ,’– उनले भने ।
साथै, उनले नेपालको जनगणनामा रहेको हिन्द् धर्मको तथ्याङ्क नै गलत रहेको दाबी गरे । भारतले आफ्नो देशलाई समेत चाहेर पनि हिन्दुराष्ट्र बनाउन नसकेको उनले बताए । नेता किरातीले नेपाललाई हिन्दु राष्ट्र बनाइएको खण्डमा संविधानको धुरी खाँबो नै ढल्ने बताए । File photo/RN




प्रतिक्रिया