काठमाडौं, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पोखरा एयरपोर्ट निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारलाई ‘जोक’ भनेकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कूल २२ अर्ब लागतको एयरपोर्ट निर्माणमा १४ अर्ब भ्रष्टाचार भयो भनिनु राम्रो जोक मान्न सकिने बताएकी हुन् ।
‘भ्रष्टाचार भएको कुरा तपाईँकै पार्टीका नेता, सांसद प्रेम आलेले भन्नुभयो– पोखरा ट्रेलरमात्रै हो । भैरहवमा पुगेपछि थाहा हुन्छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पुगेपछि थाहा हुन्छ भ्रष्टाचार कति भएको छ भन्ने भन्नुभयो । थाहा छ ?’ भन्ने प्रश्नमा उनले नेपाली समाजमा भ्रष्टाचार रहेको बताईन् । तर, कूल २२ अर्बको एयरपोर्ट बनाउँदा १४ अर्ब भ्रष्टाचार भयो भनेर चाहीँ विषयान्तर गर्न खोजिएको बताईन् ।
‘मलाई यसमा कमेन्ट गर्नुछैन । म अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि होइन । लेखा समितिको सदस्य पनि होइन । नेपाली समाजमा भ्रष्टाचार छ । तर, मलाई जोक गर्नु चाहीँ छैन । किन भने २२ अर्बको लागतमा बनेको पोखरा एयरपोर्ट, तपाईँ हामीले देखेका छौं । भैरहवाको भन्दा राम्रो एयरपोर्ट, एक हिसाबले कंक्रिट फाउन्डेसनमा बनेको छ । काम पनि भएको छ । २२ अर्बको एयरपोर्ट बनाउँदा १४ अर्ब भ्रष्टाचार हुन्छ भन्ने कुरा राम्रो जोक हो । भ्रष्टाचार भएको होला । त्यो हेर्ने संस्थाले हो यति साह्रो जोकको पछि नलागौं । यो जोकले समाजलाई, हामी जम्मैलाई भ्रष्टीकरणतिर लगेको छ । स्यालको कथा छ नि, स्यालको कथाजस्तै विषयान्तर गर्ने कुरा कसैले पनि गर्नहुँदैन,’– उनले भनिन् ।




प्रतिक्रिया