स्वर्गीय प्रदीप नेपालको दाहसंस्कार विद्युतीय शवदाह गृहमा गरिने


काठमाडौँ, २३ वैशाख । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज नै उनको अन्त्यष्टि गरिनेछ ।

यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व.नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले) भित्र निर्णायक र प्रभावशाली थिए । राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गरेका उनी नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित थिए । उनी आख्यानकार, कवि र उपन्यासकारसमेत हुन् ।

उनले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले एमालेको सचिवालयसदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गरेका थिए ।