काठमाडौं, २४ बैशाख । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले गरिव, किसान र गरिखाने वर्गको बारेमा नबोलेको टिप्पणी गरे । उनले अहिलेपनि नेपालमा २० प्रतिशत गरिबी व्याप्त रहेको तथ्यांक साझा गरे । उनले २० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेकोलाई माथि तान्नु आजको चूनौति रहेको सुनाए । गरिबी हटाउनको लागि जमिन दिनुपर्ने उनको सुझाव छ ।
उनले भने,‘गरिबी हटाउनको लागि पहिलो नम्बरमा जमिन देउ, जहाँ उसले उत्पादन गर्नसक्छ । उसलाई प्रविधि देउ, उत्पादनलाई सजिलो पार्दछ । उसलाई सिचाईं देउ, उत्पादकत्व बढ्छ । बजार देउ । यो सरकारले नीति तथा कार्यक्रममा न जमिने कुरा नीतिमा लेखेको छ, न मल दिने कुरा लेखेको छ ।’
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यसले जमिन दिने भनेको छैन, न मल दिनेगरि आएको छ, न सिचाईं, न टेक्नोलोजी, फार्मर्सको आपेन मार्केट दिन्छु भनेर लेखेको छैन् । जनताको पक्षमा, गरिबको पक्षमा, उद्योगपतिको पक्षमा एउटा सरकार पनि बनेन, अब बनाऔं ।’
यस्तै, अर्का अर्थविद् प्रा.डा. उमाशंकर प्रसादले नेपालमा विकासको गति धेरै सुस्त भएको टिप्पणी गरे । उनले विश्व आर्थिक विकासमा तिव्र गतिमा हिँडेको भएपनि नेपालको गति भने सुस्त भएको बताए । उनले भने,‘विश्व अलिक तिव्र गतिमा हिँडेको छ, हाम्रो देशको विकासको गति अलिक स्लो छ । यसलाई सच्याउनुपर्छ । हुन त विकास भयो । ५० वर्षमा एउटा तप्का धेरै अगाडि बढ्यो, तर बटममा भएको वर्गको विकास भएन । आजपनि मुसहरको साक्षरता बढेन । बटमलाई हेर्न सकिएन ।’
उनले देशमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्ने आवश्यकत्ता औंल्याए । यस्तै, कानूनी सेवालाई पनि निःशुल्क गर्न उनको प्रस्ताव छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा भागबण्डाको कारण ढिलाई भएको भन्दै सरकारको पनि उनले आलोचना गरे ।




प्रतिक्रिया