बाबुराम भट्टराईको पारिवारिक पार्टी हो, त्यो चल्दैनः महिन्द्र राय यादव (भिडिओसहित)


काठमाडौं, २५ वैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लाई पारिवारिक पार्टीको संज्ञा दिएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डा.भट्टराई नेतृत्वको दलको कुनै लक्ष्य, उद्देश्य पनि नरहेको र पारिवारिक पार्टी रहेकाले त्यो नचल्ने बताएका हुन् ।

‘उहाँ (बाबुराम भट्टराई) को पारिवारिक पार्टी हो । कहाँ चल्छ पारिवारिक पार्टी ? न कुनै लक्ष्य छ, न कुनै उद्देश्य छ । एउटा उहाँको व्यक्तित्व छ । पारिवारिक पार्टी हो । कहाँ चल्छ त्यो पार्टी ?’ प्रश्न गर्दै उनले भने ।

आफ्नो पार्टी अहिले राष्ट्रिय राजनीतिमा नेकपा (माओवादी केन्द्र) को संसदीय दलमा रहेको र पार्टीको संगठन भने विस्तार भइरहेको उनले बताए । उनले अहिलेको चार दलीय समाजवादी मोर्चाले पनि आफ्ना गतिविधि गरिरहेको बताए । ‘काठमाडौंमा त्यत्रो ठूला सभा भयो । समाजवादी मोर्चाको आवश्यकता, औचित्यता छ । त्यस कारण निर्माण भएको हो । पार्टीको पनि काम हुने, समाजवादी मोर्चाको पनि काम हुने,’– उनले भने ।

नेता यादवले आफ्नो पार्टी निकट भविष्यमै नेकपा (माओवादी केन्द्र) सँग एकतामा जाने पनि बताए । उनले माओवादीले महाधिवेशनबाट नाम टुङ्गो लगाएपछि एकता प्रक्रिया सुरु हुने बताए । माओवादी पदाधिकारी बैठकले एकताबारे चिठी लेखेर नै जानकारी गराइसकेको उनले बताए । ‘माओवादी पार्टीले पदाधिकारी बैठकबाट हामीलाई चिठी लेखेको छ । हामी महाधिवेशनबाट नामको टुङ्गो लगाउँछौं, तीन बुँदे सम्झौता भएको छ । नयाँ नाम राख्ने, पार्टी एकता गर्ने, संगठन विस्तार गर्ने । माओवादीको महाधिवेशन त हेर्नुपर्यो । त्यसपछि राम्रो भइहाल्छ,’– उनले भने । File Photo/RN