काठमाडौं । नेपालकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रा.लि.ले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६ गोबरी, रामनगरमामा उद्योगको दोस्रो युनिट सञ्चालनमा ल्याएको छ । बुधवार जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले वैद्धिक विधिअनुसार पूजा गरेर उद्योगको शुभारम्भ गरेका हुन् ।
मोरङको विराटनगरमा दुई दशक अघि सञ्चालनमा आएको यस उद्योगले दोस्रो युनिटका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो । यस अघि एसियन थाई फुड्सले ’प्रीति’, ’टुपीएम’, ’रमपम’ लगायतका चाउचाउ ब्रान्डहरू नेपालमा उत्पादन गरी भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्दै आइरहेको छ ।
कपिलवस्तुको उद्योगबाट पनि ’प्रीति’, ’टुपीएम’, ’रमपम’ लगायतका चाउचाउहरू सँगै केही थप नयाँ ब्रान्डहरूसमेत उत्पादन गरिने उद्योगले जनाएको छ । करिब अढाई बिघा क्षेत्रफलमा स्थापना गरिएको उद्योगमा सुरुमा चाउचाउ उत्पादन गरिने छ, भने क्रमशः अन्य स्नयाक्सहरू पनि उत्पादन गर्दै लगिने बताइएको छ ।
प्रबन्ध निर्देशक जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० भन्दा बढी देशमा निर्यात समेत हुने गरेको बताउँदै कपिलवस्तुमा उद्योगको स्थापनासँगै मध्य तथा पश्चिम नेपालमा एसियन थाई फुड्सका उत्पादनहरू वितरणका लागि थप सहज हुने बताए ।
उनले उद्योगमा अन्य स्नयाक्स र मसलाहरू उत्पादन गर्ने मेसिनहरू समेत जडान भइसकेकोले उद्योगले ६ महिनापछि स्नयाक्स र मसलाहरू पनि उत्पादन गर्ने बताए । त्यहाँ उत्पादन गरेको चाउचाउ देशभर नै पु¥याउने लक्ष्य रहेको र कपिलवस्तुको उद्योगमा २ सय ५० जनालाई रोजगारी प्रदान गरिने बताइएको छ । उद्योगमा अहिले ४० करोड लगानी गरिसकिएको र चालु पुँजीमा थप २० करोड रकम आवश्यक पर्ने पनि उद्योगले जनाएको छ ।





प्रतिक्रिया