धर्मनिरपेक्षता गलत थियो, वर्तमान सरकारले संविधान संशोधनमार्फत यसलाई सच्याउनुपर्छः कांग्रेस नेता उपाध्याय (भिडिओसहित)


काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले संविधानमा धर्मनिरपेक्षता राखेर गल्ती भएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब कांग्रेस–एमाले नेतृत्वको सरकारले संविधान संशोधनमार्फत धर्मनिरपेक्षता सच्याउनुपर्ने बताएका हुन् ।

‘काम गर्दाखेरी जानेर वा नजानेर भूल भयो, गल्ती भयो भने पनि त्यसलाई सच्याउनुपर्छ । हामीले वास्तवमा धर्मनिरपक्षेता संविधानमा अरुअरु प्रावधानहरु हामीले हतार–हतारमा राख्यौं । त्यसले गर्दा हामी जटिलतामा पर्यौं । संविधान संशोधन अनिवार्य छ । त्यही प्रयोजनका लागि पनि कांग्रेस र एमाले मिलेर बृहत्तर राष्ट्रिय स्वार्थमा अब हिजोका गल्ती, कमीकमजोरीहरुलाई सुधार गर्नुपर्छ । होइन भने मोफसलका सबै पार्टीहरु सकिने अवस्थामा जाने हुन्,’– उनले भने ।

साथै, दलहरुले परिणाम दिनै नसकेको उनले बताए । परिणाम दिन नसकेकै कारण इतिहासमा पुगेका राजा र व्यक्तिको बारेमा चर्चा भइरहेको उनले बताए । ‘हाम्रै कारणले परिणाम दिन नसकेर, भ्रष्टाचार एक किसिमले ब्रम्हलुट नै जस्तो भइराखेको छ । त्यो बारेमा सबैले वक्तव्य दिन्छन्, आयोग गठन गरौं भन्छन्, कोही आयोग गठन गर्दैनन् । त्यो बारेमा सोच्नुपर्छ । सच्चिने हो भने सच्चिनुस्, होइन भने नेताहरुलाई समयले नै दण्डित गर्छ,’– उनले भने ।