काठमाडौं, २७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले नेपाल सरकारले सुदीप न्यौपाने हत्याको बदला लिनुपर्ने बताएका छन् । भारतस्थित जम्मू कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपाली युवा न्यौपानेको मृत्यु भएको थियो । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल सरकारले आफ्नो नागरिक हत्याको बदला लिनुपर्ने बताएका हुन् । उनले नेपाल आफैंले बदला लिन नसक्ने हो भने भारतले चलाइरहेको कारबाहीमा साथ दिनुपर्ने बताए ।
‘नेपाल सरकारले के गरिरहेको छ आफ्ना नागरिकको लागि ? हाम्रो नागरिकको पनि हत्या भएको छ । नेपाल सरकारले पनि आतङ्कवादको विरुद्धमा आफ्नो प्रतिवद्धता र आफ्नो नागरिकको हत्याको विरुद्धमा बदला लिनेगरी अगाडि बढ्नुपर्थ्यो । भारत सरकारले आफ्नो नागरिकको लागि गरिराखेको छ । आफैंले नसक्ने हो भने कम्तिमा त्यसमा साथ हुनुपर्यो नि,’– उनले भने ।
उपाध्यक्ष यादवले आतङ्कवादविरुद्ध भारतले चलाइरहेको ‘अपरेशन सिन्दुर’ असफल हुन नहुने बताए । अपरेशन सिन्दुर असफल भएको खण्डमा मानवताले जित्न नसक्ने उनको भनाइ छ । ‘भारतले अहिले ‘अपरेशन सिन्दुर’ चलाएको छ । मानवताले जित्ने हो भने त्यो सफल हुनुपर्छ,’– उनले भने ।
आतङ्कवादलाई समयमै निराकरण गर्न नसकिएको खण्डमा त्यो एउटा ठाउँमा मात्रै सीमित हुन नसक्ने उनले बताए । आतङ्कवादको विरुद्धमा जो–जसले लडिरहेको छ, नेपालले साथ दिनुपर्ने उनले बताए । अहिले भारतले पाकिस्तानको विरुद्ध आक्रमण नगरेको उनको दाबी छ । भारतले केवल आतङ्कवादको विरुद्ध कारबाही चलाइरहेको नेता यादवले बताए । File Photo/RN




प्रतिक्रिया