भारतको पक्षमा स्पष्ट समर्थन दिन नसक्ने मौन अनुहारहरू नै आजको मूल संकट हुन्ः कांग्रेस सांसद बजगाईं


  • राजेन्द्र बजगाईँ

असंलग्नताको मोहः कायरताको आवरण । वीपी कोईरालाको निधनमा राजा वीरेन्द्रले दिएको शोक सन्देश अझै नेपाली जनमानसमा बाँचिरहेको छ-‘श्री विश्वेश्वर प्रसाद कोईरालाको देहान्तले हामीलाई दुख लागेको छ। सबै नेपालीको देहान्तमा हामीलाई दुःख लाग्नु स्वाभाविकै हो।’

यो भनाइ न त संवेदनशील थियो, न राजनीतिक परिपक्वताको परिचाय। न त यसमा सास थियो, न साहस। केवल औपचारिकताको एक खाली खोल, जसको कुनै नैतिक गहिराइ थिएन, ऐतिहासिक मूल्य झनै थिएन।

त्यस सन्दर्भमा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसको वाक्य स्मरणीय लाग्छ–‘Either you are with us, or with the terrorists.’

संकटको घडीमा राष्ट्रहरू ‘न त यता, न उता’ भन्ने अस्पष्टतामा अल्मलिँदैनन्। राष्ट्रको नेतृत्वले दृढ पक्ष लिन्छ, यही हो कर्तव्यबोध। तर, दुःखको कुरा, नेपाली राजनीतिमा उदाउने आकांक्षा राख्ने केही पात्रहरू अझै पनि राजा वीरेन्द्रको असंलग्न परराष्ट्रनीतिलाई लोकतन्त्रपछिको युगमा पनि जपिरहेछन्।

तर, यथार्थ के हो भने—असंलग्न नीति अब अप्रासंगिक भइसकेको छ। राष्ट्र माटो, नदी, धर्म, भाषा र सभ्यताको साझा आकार हो। यस्तो राष्ट्र, विशेष गरी खुला सिमाना भएको, सम्पूर्ण आयात, रोजगारी, र संस्कृतिको गहिरो सम्बन्ध एक छिमेकी मुलुकसँग गाँसिएको हो भने, असंलग्न परराष्ट्रनीति राष्ट्रभक्तिको होइन, निस्क्रियताको घातक संकल्प हो। असंलग्न नीति सायद दक्षिण अमेरिका वा आइसल्यान्डजस्ता टापु राष्ट्रहरूका लागि उपयुक्त लाग्न सक्छ। तर, नेपाल ? जहाँ खुला सिमाना छ, जहाँ नदीले धर्म बोकेको छ, जहाँ हरेक रोजगारी र व्यापार भारतसँग गाँसिएको छ—त्यहाँ असंलग्नताको नाममा तटस्थता देखाउनु आत्मवञ्चना मात्र हो।

हाम्रा पूर्खाहरूको इतिहास के भन्छ ? इस्ट इन्डिया कम्पनीको विरुद्ध भारतको म्यूटिनी (१८५७) मा, गोर्खा सैनिकहरूले निर्णायक भूमिका खेले। भोट (तिब्बत) युद्धमा नेपाली वीरता अमिट छाप बनेर बसिरहेको छ। यी युद्धहरूको मूल सन्देश हो—सक्रिय संलग्नता, आत्मसम्मानको रक्षा, र प्रतिरोधको इतिहास। असंलग्नता त शक्तिविहीनहरूको आत्मसमर्पण मात्र हो—एक पराजित मानसिकताको छायाँ। आज फेरि दक्षिण एशियामा द्वन्द्व चर्किएको छ। भारत–पाकिस्तान युद्ध, काश्मीरमा आतङ्कवादी नरसंहार—यी घटनाहरूले पुनः एकपटक हाम्रो चेतनालाई झकझक्याएका छन्।

तर, विडम्बना, नेपालका गैर–प्रजातान्त्रिक दलहरू यति नै गम्भीर परिस्थितिमा समेत अस्पष्ट, विरोधाभासी र शिथिल विज्ञप्ति निकालेर कर्तव्य पूरा भएको ठानिरहेका छन्। भारतकै सहयोगमा सत्तामा पुगेका, वा पुग्ने सपनामा बाँचेका नेताहरू—मौन छन्। यो मौनता केवल राजनीतिक कमजोरी होइन, कायरताको अव्यक्त अभिव्यक्ति हो। हामीले यथार्थ बुझ्नैपर्छ—भारत नेपालका लागि केवल छिमेकी मात्र होइन, रणनीतिक साझेदार हो।

नेपालको ७० प्रतिशतभन्दा बढी व्यापार भारतसँग नै छ। भारत नेपालका लागि सबैभन्दा ठूलो विकास साझेदार राष्ट्र हो। नेपाली सेनापति र भारतीय सेनापति एक–अर्काका मानार्थ पदाधिकारी हुन्। भारतीय सेनामा अझै ३० हजारभन्दा बढी गोर्खा सैनिकहरू सेवा गरिरहेका छन्। यी तथ्यहरू बुझ्न असफल हुने, वा बुझेर पनि चुप लाग्ने नेतृत्वले राष्ट्रको संरक्षण गर्न सक्दैन।

आजको नेपाली राजनीतिक परिदृश्यमा पुराना होस् वा नयाँ, लोकतान्त्रिक देखिने होस् वा निरंकुश आकांक्षा बोकेका—सबैजसो दल र पात्रहरू अस्पष्टतामा छन्। भारतको पक्षमा स्पष्ट समर्थन दिन नसक्ने यी मौन अनुहारहरू नै आजको मूल संकट हुन्। मेरो यो अभिव्यक्ति एक वीर गोर्खाली सपूतको निष्कलंक मन्तव्य हो। यो कसैलाई रिझाउने वा मन पराउने प्रयोजनले लेखिएको होइन—यो शुद्ध सत्यमा आधारित अभिव्यक्ति हो। म यो विश्वासमा अडिग छु कि नेपालको रक्षा संयन्त्र र सैन्य बल जबसम्म सुदृढ र सक्षम हुँदैन, तबसम्म राष्ट्रमाथि आउने खतरा र चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सकिँदैन।