दशकदेखि ‘मोसो’ बाँसका बिरुवा उत्पादन


काभ्रेपलाञ्चोक, २ जेठ । बनेपाको धनेश्वरमा व्यावसायिक रुपमा लामो समयदेखि ‘मोसो’ जातको बाँसका बिरुवा उत्पादन गर्दै आइएको छ । करिब दुई दशकदेखि बाँसकै अनुसन्धान र नर्सरी सरु गरेका बद्री अधिकारीको नर्सरीमा यस वर्ष करिब १० हजार उक्त प्रजातिको बाँसका बेर्ना उत्पादन भएका छन् ।

अधिकारीले यस जातको बाँसको बिरुवाका लागि बीउ भने चीनबाट ल्याउने गरेको छ । उत्पादित बिरुवा प्रतिवटा रु २०० देखि ४०० सम्ममा बिक्री गर्ने अधिकारी बताउँछन् । उनी भन्छन्, “यो बाँसलाई तामाको तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ भने कागज र हस्तकलाका सामान पनि बनाउन पनि सकिन्छ ।” उनका अनुसार पहाडी क्षेत्रमा पहिरो गइरहने ठाउँमा यो जातको बाँस लगाउँदा अन्यको तुलनामा भू–क्षय रोक्न ठूलो सहयोग गर्नेछ ।

नेपालमा पाइने करिब ८० प्रजातीका बाँसमध्ये यो बेग्लै विशेषता भएको अधिकारीले बताए । उनले यो जातको बाँस ‘ग्रामिनी परिवार’भित्र पर्ने पात नझर्ने एक ठूलो आकारको घाँस हो । बाँसको काठ जस्तै कडा घना, बलिया हाँगाहरु घनाको ढ्याङ्ग्रा र चक्रिय फूल फूल्ने जस्ता गुणले गर्दा अन्य घाँसभन्दा फरक हुन्छ । यस्तै मोसो बाँस गानोबाट छुट्टाछुट्टै रुपमा विकसित हुने प्रजाति हो । यस प्रजातिको झ्याङ हुँदैन । मोसो बाँस पृथ्वीको शितोष्ण क्षेत्रमा पाइने सबैभन्दा ठूलो बाँस मानिँदै आइएको छ ।

यो बाँस बयष्क अवस्थामा सरदर ७५ फिट अग्लो र १८ सेन्टिमिटर डायमिटरको हुन्छ । मध्यपहाडी क्षेत्रमा यसको सफलतापूर्वक खेती गर्न सकिने जनाइएको छ । यसको जरा उकालो र दायाँबायाँ सहजै फैलिन्छ भने ओरालोतिर कम फैलिन्छ ।

विसं २०६४ साउनमा नेपाल वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले बनेपाको धनेश्वरको बैकिवा सामुदायिक वनमा ५०० बोट मोसो बाँसका बिरुवा रोपेको थियो । सुरुमा सात रोपनी जमिनमा लगाइएको उक्त बाँस हाल एक हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको केन्द्रले जनाएको छ । यो प्लट समुन्द्री सतहबाट एक हजार ५५० मिटरको उचाइमा रहेको छ ।

उत्तर मोहडाको सेपिलो जग्गामा यो बाँस छिट्टै मौलाउने गरेको छ । अधिकारीले उत्पादन गरेको बाँसका बिरुवा काभ्रेपलाञ्चोकसँगै भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काठमाडौँ, कास्की, जुम्ला, ललितपुर, कालीकोट, दोलखा, दैलेख, रामेछाप, जाजरकोट, इलाम र अछाममा १२ हजार ५०० मोसो बाँसका बिरुवा रोपिएका छन् । यस वर्ष खोटाङमा पाँच हजार बाँसका बिरुवाको माग भएको अधिकारीले बताए । रासस