काठमाडौं, ३ जेठ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा अोलीले पार्टीको हैसियतअनुसार आफूहरुको कुरा नसुनेको भन्दै सभापति शेरबहादुर देउवासँग गुनासो पोखेका छन् । सरकारले नियुक्ति र निर्णय प्रक्रियामा ढिलासुस्ती गरिरहेको र किन यस्तो भइरहेको हो भनेर सांसदहरुले गुनासो गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।
‘स्वभाविक रुपमा ठूला दुई पार्टीको गठबन्धन छ । हाम्रा कुराहरु यथेष्ट सुनिएन कि भन्ने चासो, चिन्ता हुनु स्वभाविक हो । नियुक्तिहरु अलमलमा परेको छ । अनावश्यक रुपमा ढिलाइ भइराखेको छ । किन ढिला भएको हो, किन त्यसो भयो ? यी तमाम कुराहरुमा पार्टीले त चासो राख्छ नि । गभर्नको कुरा, अरु पनि निर्णय प्रक्रियाहरुमा चाहीँ हाम्रो जुन हैसियत छ, त्यो अनुसार हाम्रो कुरा सुनिनुपर्यो । निर्णय प्रक्रियामा अलमल हुन भएन भन्ने कुरामा हाम्रो पार्टी पंत्तिले चासो चिन्ता राख्नु स्वभाविक नै हो,’– बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता महतले भने ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सभापति देउवालाई फोन गर्नु र जनार्दन शर्माले भेट्नु संयोगमात्रै रहेको पनि उनले बताए । मध्यपहाडी लोकमार्ग केन्द्रीत पार्टीको अभियानमा रहेका प्रचण्डले हिजो डडेलधुराबाट देउवालाई फोन गरेका थिए । त्यसको केही समयपछि जनार्दन शर्मा देउवा भेट्न बुढानीलकण्ठ नै पुगेका थिए । ‘शेरबहादुर देउवाजीकै जिल्लामा गएको बेलामा फोन गरौं भन्ने लाग्यो होला । पहिला ओलीजीले पनि गर्नुभएको थियो । जनार्दनसँग भेट्नमा त्यस्तो केही छैन । संयोगमात्रै हो,’– नेता महतले भने ।




प्रतिक्रिया